आन्दोलनको क्षतिपछि सात अर्ब बिमा दाबी भुक्तानी, अझै १६ अर्ब भुक्तानी बाँकी

आन्दोलनका कारण बिमा कम्पनीमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरको तीन हजार ३५५ वटा दाबी

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले सात अर्ब एक करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकअनुसार आन्दोलनका कारण बिमा कम्पनीहरूमा २३ अर्ब ३८ करोड ८१ लाख रुपैयाँबराबरका तीन हजार तीन सय ५५ वटा दाबी परेका छन् । त्यसमा हालसम्म सोबराबरको भुक्तानी भएको हो । 

नेपाल बिमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ चंकी क्षेत्रीले दाबी भुक्तानी नियमित रूपमा भइरहेको बताए । ‘सर्भे गर्नुपर्ने र आवश्यक कागजात मिलाउनुपर्दा दाबी प्रक्रिया लामो हुन्छ । यद्यपि, यो परिस्थितिलाई दृष्टिगत गर्दै कम्पनीहरूले आंशिक रूपमा अग्रिम भुक्तानी पनि दिएका थिए । हालसम्म अधिकांश दाबीको सर्भे सकिएको छ । आवश्यक कागजात मिलाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रक्रिया पूरा भएपछि पूर्ण दाबी भुक्तानी हुन्छ ।’सरकारले पनि प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशत अग्रिम भुक्तानी गर्न ५ असोजमै निर्देशन दिएको थियो । तर, त्योअनुसार अझै ५० प्रतिशत भुक्तानी भएको देखिन्न । 

१६ अर्ब भुक्तानी हुन बाँकी 
प्राधिकरणको तथ्यांकअनुसार अब कम्पनीहरूले १६ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । आवश्यक पक्रिया पूरा भएपछि बाँकी दाबी पनि भुक्तानी हुने कम्पनीहरू बताउँछन् । यद्यपि, सर्भेयरको अन्तिम प्रतिवेदन तयार हुँदा यो रकम थपघट हुन सक्नेछ । 

पुनर्बिमा दाबी भुक्तानीमा ढिलाइ 
बिमा कम्पनीहरूले नियमित रूपमा दाबी भुक्तानी दिए पनि उनीहरूले पुनर्बिमा कम्पनीबाट पाउनुपर्ने भुक्तानीमा भने ढिलाइ भएको गुनासो गरेका छन् । यो हुलदंगा तथा आतंकवाद जोखिमअन्तर्गतको दाबी हो । नेपालमा यो जोखिमको पुनर्बिमा नेपाल रि इन्स्योरेन्स कम्पनीले गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार बिमा कम्पनीहरूले यसअघि नै नेपाल रिमा यसको पुनर्बिमा गरेका थिए । तर, कम्पनीहरूले नेपाल रिमा दाबी पेस गरे पनि भुक्तानी भने छिटो–छरितो पाउन नसकेको गुनासो गरेका छन् । कम्पनीहरूले नेपाल रिमा झन्डै १६ अर्बबराबरको पुनर्बिमा पेस गरेका छन् । त्यसमा करिब तीन अर्बबराबरको भुक्तानी नेपाल रिले गरेको छ, बाँकी प्रक्रियामा छ । एक बिमा कम्पनीका सिइओले पुनर्बिमाको भुक्तानी पाउन ढिलाइ भएको बताए । ‘हामीले चुक्ता पुँजी र विभिन्न कोषको रकमबाट भुक्तानी दिइरहेका छौँ । तर, पुनर्बिमाबापतको भुक्तानीमा भने ढिलाइ भएको छ,’ सिइओले भने, ‘पुनर्बिमाको दाबी भुक्तानी पनि छिटो–छरितो भइदिए सजिलो हुने थियो ।’

कुन कम्पनीबाट कति भयो भुक्तानी ?
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै दुई अर्ब १४ करोड ७९ लाख रुपैयाँ भुक्तानी दिएको छ । धेरै दाबी भुक्तानी दिने दोस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स छ । उक्त कम्पनीले एक अर्ब १३ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले ९३ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

यस्तै, दी ओरियन्टलले ३१ करोड १९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ४५ करोड ७८ लाख रुपैयाँ, नेकोले ३४ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेस्टले ४७ करोड ७३ लाख रुपैयाँ र सानिमा जिआइसीले २८ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, एनएलजीले २८ करोड ८६ लाख रुपैयाँ, युनाइटेड अजोडले १३ करोड ७४ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले एक करोड ५० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३२ करोड २० लाख रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, प्रभुले दुई करोड ५७ लाख रुपैयाँ र नेसनलले ६४ लाख रुपैयाँ भुक्तानी दिएको तथ्यांकमा उल्लेख छ । लघुबिमातर्फ प्रोटेक्टिभ माइक्रोले ७७ लाख ६३ हजार रुपैयाँ, स्टार माइक्रोले ५१ लाख १६ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३६ लाख ९६ हजार रुपैयाँ र नेपाल माइक्रोले ३२ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको तथ्यांक छ । 

कुन क्षेत्रमा कति भुक्तानी ? 
तथ्यांकअनुसार सम्पत्ति बिमातर्फ १८ अर्ब ९९ करोड १४ बराबरका सात सय २० वटा दाबी परेका छन्, त्यसमा चार अर्ब ९१ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।यस्तै, मोटर बिमामा तीन अर्ब ४१ करोड ५४ लाख रुपैयाँबराबरका दुई हजार तीन सय ३८ वटा दाबी परेका छन् । त्यसमा हालसम्म एक अर्ब ८६ करोड ८७ लाख भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ५६ करोड १९ लाखबराबरका दुई सय २९ वटा दाबी परेका थिए, त्यसमा ५६ करोड १९ लाख भुक्तानी गरेको देखिन्छ ।

परिवहन बिमातर्फ एक करोड ६१ लाखबराबरका १२ वटा दाबी परेका थिए, त्यसमा एक करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अन्य बिमामा ३९ करोड ६१ लाखबराबरका ५६ वटा दाबी परेका थिए, त्यसमा हालसम्म आठ करोड ७८ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

चार कम्पनीलाई कारबाही 
यसैबिच प्राधिकरणले चार बिमा कम्पनीलाई नियमनसम्बन्धी कारबाही गरेको छ । जीवन बिमातर्फ एसियन लाइफ, हिमालयन लाइफ र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही गरिएको छ । निर्जीवन बिमातर्फ नेको इन्स्योरेन्सलाई कारबाही गरिएको प्राधिकरणको भनाइ छ । ऐन तथा प्राधिकरणको विभिन्न निर्देशनविपरीत काम गरेपछि प्राधिकरणको बोर्ड बैठकले कारबाही गरेको हो ।  प्राधिकरणले यससँगै हिल्टन होटेलको पुनर्बिमा दाबी विवादमा नेपाल रिका सिइओ सुरेन्द्र थापासहित हिमालयन रि इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्स र एलियन्ट पुनर्बिमा ब्रोकरलाई कारबाही गरिसकेको छ । 

अधिकांश दाबीको सर्भे सकिएको छ
 चंकी क्षेत्री, सिइओ सगरमाथा लुम्बिनी इन्स्योरेन्स

 सर्भे गर्नुपर्ने र आवश्यक कागजात मिलाउनुपर्दा दाबी प्रक्रिया लामो हुन्छ । यद्यपि, यो परिस्थितिलाई दृष्टिगत गर्दै कम्पनीहरूले आंशिक रूपमा अग्रिम भुक्तानी पनि दिएका थिए । हालसम्म अधिकांश दाबीको सर्भे सकिएको छ । आवश्यक कागजात मिलाउने काम भइरहेको छ , प्रक्रिया पूरा भएपछि पूर्ण दाबी भुक्तानी हुन्छ ।

सुझावित समाचार