पेट्रोलियम आयात नियमित तर, आपूर्ति असहज

मध्यपूर्व तनावका बाबजुद पेट्रोलियम आयात घटेको छैन, तर व्यापारीले लुकाउने र उपभोक्ताले चाहिनेभन्दा बढी थुपार्ने प्रवृत्तिले आपूर्ति असहज, अनुगमन फितलो

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

मध्यपूर्वको तनावका बिच नेपालमा पेट्रोलियम पदार्थको आयात नियमित परिमाणमै हुँदा पनि सरकारले आपूर्तिलाई व्यवस्थित बनाउन नसक्दा बजारमा अभाव देखिएको छ । व्यापारीले लुकाउने र उपभोक्ताले बढी थुपार्ने प्रवृत्तिलाई सरकारले प्रभावकारी अनुगमनमार्फत नियन्त्रण गर्न सकेको देखिँदैन । जसले गर्दा आयात सामान्य हुँदा पनि आपूर्ति असहज भइरहेको उपभोक्तावादीले बताएका छन् । 

अमेरिका–इजरायल र इरानबिचको युद्धले मध्यपूर्व तनावग्रस्त भएपछि विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा असहज भएको छ । तर, तथ्यांकले भने नेपालमा ग्याससहित पेट्रोलियम पदार्थको आयात सामान्य अवस्थामा जतिकै वा सोभन्दा बढी परिमाणमा भइरहेको देखाउँछ । चालू आर्थिक वर्ष ०८२÷८३ को फागुनमा सबैभन्दा बढी ५१ हजार एक सय ९२ टन ग्यास भित्रिएको छ । नेपालको मासिक औसत खपत भने ४५ हजार टन हो ।

सामान्य अवस्थाको तुलनामा ग्यास आयात धेरै भए पनि बजारमा उच्च माग भएकाले हाल आयातीत परिमाणले धान्न मुस्किल भएको आयल निगमको निर्देशक विनितमणि उपाध्यायले बताए । ‘ग्याससहितको पेट्रोलियम पदार्थको आयातमा कुनै असर परेको छैन । नियमित परिमाण नै भित्रिरहेको छ,’ उनले भने, ‘तर, उपभोक्ताहरूमा अभाव हुने त्रासका कारण सञ्चय गर्ने प्रवृत्ति कायम रहेकाले ग्यासको आपूर्ति सहज हुन सकिरहेको छैन ।’ उच्च माग धान्न २९ फागुनबाट आधा परिमाण (७.१ किलोग्राम) भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउन थालिए पनि अभाव कायमै छ ।

भन्सार विभागको तथ्यांकअनुसार असहजता देखिन थालेको पुसमा ४७ हजार चार सय ६० टन र माघमा ४६ हजार दुई सय ८४ ग्यास आयात भएको छ । त्यसअघि मंसिरमा ४५ हजार दुई सय २८ टन, कात्तिकमा ४२ हजार ६ सय ८१ टन, असोजमा ४७ हजार चार सय ७० टन, भदौमा ४७ हजार ६ सय ४४ टन र साउनमा ४४ हजार तीन सय १८ टन ग्यास आयात भएको थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारले अनुगमन र आपूर्तिलाई चुस्त बनाउन नसक्दा आमउपभोक्ताले सास्ती व्यहोर्नुपरिरहेको बताए । अहिले पहुँचवालाले सहजै ग्यास पाइरहेको भए पनि आमसर्वसाधारणले एलपी ग्यासको चरम अभाव भोगिरहेको उनले बताए । ‘भन्सार विभागको तथ्यांकले आयात सामान्य नै देखाएको छ, तर उपभोक्ताले खोजेका वेलामा पाउन सकेका छैनन्,’ उनले भने, ‘कागजी तथ्यांकमा ग्यास र तेल यति आयो, उति आयो भनेर हुँदैन । बजारमा माग भएजति दिन सक्नुपर्छ ।’ नेपाल आयल निगम र वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी काम गर्न नसक्दा उपभोक्ता खाली सिलिन्डर काँधमा बाकेर भौँतारिरहन बाध्य भएको उनले बताए ।

सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ चैतमा गरेको अनुगमनले श्रीराम ग्यासको ललितपुर हरिसिद्धिस्थित गोदाममा पूरा भरिएका (१४.२ केजी) ६ हजार ३७७ थान सिलिन्डर स्टक फेला पारेको थियो । विभागले उक्त उद्योगलाई तीन लाख जरिवाना तिराएको थियो । सरकारले उद्योगदेखि साना डिलरसम्म अनुगमनलाई तीव्र नबनाउँदा बजारमा आपूर्ति सहज हुन नसकेको सरोकारवाला बताउँछन् । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता नरहरी तिवारीले भने सरकारले ग्यास आपूर्ती सहजताका लागि दिनहुँ डिलर, बितरक र उद्योगीकहाँ पालैपालो अनुगमन गरिरहेको दाबी गरे ।

‘बुधबार पनि उपत्यकाको पाँचवटा डिलरमा अनुगमन भएको छ । पछिल्लो अनुगमनक्रममा विगतमा जस्तो चर्को अभाव नरहेको देखिन्छ । खासगरी आधा ग्यास भरिएको सिलिन्डर बजारमा ल्याउन थालेपछि माग सम्बोधनमा ठोस योगदान पुगेको अवस्था छ,’ उनले भने, ‘विभाग पनि विगतमा जस्तो ग्यास अभावबारे सोधीखोजी र उजुरी आउनेक्रम घटेको छ । यसर्थ, बिस्तारै सहजतातर्फ उन्मुख रहेको भन्न सकिन्छ ।’ यद्यपि, पूर्ण रूपले ग्यास सहज भएको स्थिति नभएको उनले स्वीकार गरे । ‘केही समयअघि श्रीराम ग्यासको गोदाममा ६ हजार थानभन्दा बढी सिलिन्डर भेटिएपछि कारबाही गरेका थियौँ । त्यो घटनाले पनि लुकाएर राख्ने प्रवृत्ति निरुत्साहित भएको हाम्रो बुझाइ छ,’ उनले भने ।

पेट्रोल, डिजेल र हवाई इन्धनको आयात पनि नियमित
भन्सारको तथ्यांकअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको आयात नियमित छ । डिजेल साउनमा ६५ हजार एक सय ५६ किलि, भदौमा ९९ हजार ६ सय ३२ किलि, असोजमा ६२ हजार पाँच सय ६० किलि, कात्तिकमा एक लाख २० हजार चार सय ४४ किलि, पुसमा एक लाख ४२ हजार चार सय किलि, माघमा एक लाख ३६ हजार एक सय ४० किलि र फागुनमा एक लाख ३० हजार ५२ किलि आयात भएको छ । पेट्रोल साउनमा ६७ हजार सात सय २४ किलि, भदौमा ५५ हजार आठ सय ९२ किलि, असोजमा ६९ हजार नौ सय ९२ किलि, कात्तिकमा ६४ हजार सात सय ५५ किलि, मंसिरमा ५६ हजार तीन सय किलि, पुसमा ६५ हजार पाँच सय ७२ किलि, माघमा ६२ हजार पाँच सय ५२ किलि र फागुनमा ६९ हजार एक सय २० किलि आयात भएको छ ।

हवाई इन्धन साउनमा १४ हजार चार सय ९२ किलि, भदौमा १७ हजार चार सय २३ किलि, असोजमा २० हजार ६ सय ६८ किलि, कात्तिकमा १८ हजार तीन सय ८४ किलि, मंसिरमा १९ हजार नौ सय ४४ किलि, पुसमा १६ हजार पाँच सय ९६ किलि, माघमा १७ हजार तीन सय ८८ किलि र फागुनमा १९ हजार नौ सय १६ किलि आयात भएको भन्सार विभागको तथ्यांक छ ।

आठ महिनामा एक खर्ब ७६ अर्बको पेट्रोलियम आयात 
चालू आवको आठ महिनामा एक खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ७५ अर्ब ३७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको तुलनामा एक अर्ब नौ करोडभन्दा बढीको पेट्रोलियम आयात भएको छ । चालू आवको फागुनसम्म ४३ अर्ब ८९ करोडको पेट्रोल आयात भएकोमा गत आवको सोही अवधिमा ४२ अर्ब ८० करोडको आयात भएको थियो । डिजेल आयात तीन अर्ब २४ करोड रुपैयाँले बढेको छ । गत आवको आठ महिनामा ७८ अर्ब ८६ करोडको डिजेल आयात भएकोमा चालू आवको सोही अवधिमा ८२ अर्ब १० करोडको आयात भएको छ ।

 खाना पकाउने ग्यास मूल्यमा भने घटेको देखिन्छ । तर, परिमाणमा भने बढेर आएको छ । यद्यपि, मूल्यमा तीन अर्ब ६८ करोड रुपैयाँले ग्यासको आयात घटेको छ । चालू आवको आठ महिनामा ३७ अर्ब ३१ करोड रुपैयाँमा ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा ४१ अर्बको ग्यास आयात भएको थियो । हवाई इन्धन १३ अर्ब ३३ करोड १३ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सुझावित समाचार