अमेरिका–इरानबिच यसै हप्ता पाकिस्तानमा वार्ताको तयारी

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंटन र तेहरानबिच वार्ता चलिरहेको दाबी इरानले अस्वीकार गरे पनि आगामी दिनमा दुई देशबिच वार्ता आयोजना गर्न तयार रहेको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ । त्यसको केही घण्टापछि नै पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले पनि सामाजिक सञ्जाल ‘एक्स’मा लेखेर उनको देश ‘जारी द्वन्द्वको व्यापक समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्तालाई सहज बनाउन आयोजक हुन तयार रहेको’ बताए ।

अमेरिकी तथा इजरायली मिडियाले भने आधुनिक इतिहासको सबैभन्दा ठुलो ऊर्जा संकट निम्तिएको अवस्थामा इरान युद्ध अन्त्य गर्ने सन्दर्भमा पाकिस्तान, इजिप्ट र टर्किएले कूटनीतिक रूपमा मध्यस्थ गरिरहेको समाचार लेखेका छन् । केही समाचारले त यसै हप्ताभित्र इस्लामाबादमा वार्ता आयोजना हुन सक्ने औँल्याएका छन् । 

अमेरिकी मिडिया आउटलेट ‘एक्सियोस’का अनुसार इस्लामाबादमा हुने बैठकका लागि दुई सम्भावित ढाँचाबारे छलफल भइरहेको छन् । एउटामा इरानी विदेशमन्त्री अब्बास अराघची, अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुसनर समावेश हुनेछन् । अर्कोमा भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफलाई भेट्ने बताइएको छ । यस सन्दर्भमा केही संकेत भने समाचारले नै पुष्टि गरेका छन् ।

आइतबार पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरले राष्ट्रपति ट्रम्पसँग फोनवार्ता गरेका थिए । लगत्तै अर्को दिन प्रधानमन्त्री सेहबाज सरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुराकानी गरे । त्यसपछि पाकिस्तानी विदेशमन्त्री इसाक दारले इरानी तथा टर्किस समकक्षीसँग छुट्टाछुट्टै फोनवार्ता गरेका थिए । 

सुझावित समाचार