हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत मंगलबार टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टाइम्सले अन्तिम समयमा रिबाउन्डमा दुई अंक स्कोर गरेपछि कीर्तिपुरलाई ८१–७९ ले हराएको हो ।
अधिकांश समयपछि परेको टाइम्सले अन्तिम समयमा बराबरी गर्न सफल भएको थियो । अन्तिममा एकपटक टाइम्सले अग्रता लिए पनि कीर्तिपुरले बराबरी गर्यो । अन्तिममा टाइम्सले पाएको मौकामा दुई स्कोर गरेपछि खेल जित्न सफल भयो ।
१२ सेकेन्ड समय बाँकी रहँदा टाइम्सका कप्तान सदिश प्रधानले हानेको थ्री प्वाइन्टको प्रयास सफल भएन । त्यसैको रिबाउन्डमा कमल थापाले दुई स्कोर गर्दै टाइम्सलाई रोमाञ्चक जित दिलाए । टाइम्सका मनीष केसीले सर्वाधिक ३१ स्कोर गरे । लिगमा टाइम्सको यो लगातार सातौँ जित हो । ८ खेलमा ७ जित र १ हारकाट १५ अंक जोडेर टाइम्स अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् ।