अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘अर्ली इलेक्सन’ को विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्पष्टीकरण सोधेको छ । परिषद्का खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले मंगलबार एन्फालाई पत्राचार गर्दै पत्र प्राप्त भएको २४ घण्टाभित्र सफाइ पेस गर्न निर्देशन दिएका छन् । तर, एन्फा प्रशासनले १३ चैतमा साधारणसभामा सहभागी हुन मंगलबारै सूचना प्रकाशित गरी कार्यालय बन्द गरेको जानकारी दियो ।
‘एन्फाको १३ चैतमा झापामा हुने साधारणसभा तथा निर्वाचन प्रयोजनका लागि १० चैतदेखि संघको केन्द्रीय कार्यालय सातदोबाटो ललितपुर सचिवालय बन्द रहने जानकारी गराउन चाहन्छु,’ एन्फाको प्रशासनको जारी विज्ञप्तिमा उल्लेख छ । एन्फाको विज्ञप्तिमा जारी मिति छैन । यसमा केवल एन्फा प्रशासनको लोगो मात्र छ ।एन्फा प्रशासनले बिहानै कार्यालय बन्द रहने भनेपछि राखेपका कर्मचारी स्पष्टीकरण पत्र बुझाउन सकेनन् । एन्फा मुख्यालयमा पत्र बुझाउन गएका राखेपका कर्मचारी एन्फाका सबैजसो पदाधिकारी तथा कर्मचारी चुनावका लागि झापा गइसकेका थिए । आफूहरू एन्फाको आधिकारिक व्यक्ति नभएकाले राखेपको पत्र लिन नसक्ने प्रतिनिधिलाई जवाफ दिएका थिए । अहिले एन्फा कार्यालयमा सुरक्षा गार्डलगायतका अन्य कर्मचारी मात्र छन् । जसका कारण राखेपका प्रतिनिधिले एन्फामा पत्र बुझाउन पाएनन् ।
साधारणसभामार्फत केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको एन्फाले परिषद्को निर्देशन पालना नगरेको तथा प्रचलिन कानुनविपरीत काम गरेको खेलकुद विकास विभागका प्रमुख पोखरेलले बताएका छन् । ‘कार्यकारी समितिले सफाइ पेस गर्न निर्देशन दिने निर्णय गरेको थियो, यसैअनुसार एन्फालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको हो,’ पोखरेलले भनेका छन् । यसअघि राखेपले ५ चैतमा एन्फा चुनाव स्थगित गर्न राखेपलाई तेस्रोपटक पत्र काटेको थियो ।
तर, एन्फाले बारम्बार फिफा र एएफसीको निर्देशन, एन्फाको विधान तथा पाटन उच्च अदालतको आदेशलगायतका कारण चुनाव रोक्नुनपर्ने भन्दै चुनावमा सहयोग गर्ने आह्वानसहित राखेपमा पत्राचार गरेको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट निर्वाचनको प्रक्रियामा साथ पाएको पंकजविक्रम नेम्वाङ समूहले झापा निर्वाचनको अन्तिम तयारी गरिसकेको छ ।
परिषद्ले एन्फाले गर्न लागेको निर्वाचनलाई स्वीकृति दिएको छैन । निर्वाचन गर्नका लागि विधान संशोधन गर्न निर्देशन राखेपले दिएको अवस्था छ । एन्फाले अन्तर्राष्ट्रिय निकायबाट स्वीकृति पाए अवस्थामा निर्वाचन रोक्न नमिल्ने भनेको छ । एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी ६ असारमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै एन्फाले निर्वाचन गर्न लाग्दा जिल्लाबाट तहगत नगरी सिधै केन्द्रीय कार्यसमितिको मात्र निर्वाचन गर्न लागेको हो । यसपटकको निर्वाचनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसीबिच प्यानलबिच प्रतिस्पर्धा हुँदै छ ।
प्रशासनिक र कानुनी कारबाहीको चेतावनी
राखेपको मंगलबार काटिएको पत्रमा राखेपले एन्फालाई तोकिएकै समयसीमाभित्र उचित कारणसहित लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । विभागका प्रमुख पोखरेलले एन्फालाई आवश्यक कागजात, निर्णयको आधार र प्रक्रियागत स्पष्टतासमेत समावेश गर्न भनेका छन् । एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी राखेपले दिएको उनले बताए ।
‘नियामक निकायसँग पटक–पटक भएको छलफल र निर्देशनको परिपालना नगरेको हुँदा परिषद्को कार्यकारी समितिको ९ चैतको बैठकबाट ऐनको दफा २८ को (ङ) र दफा २९ (१) को बमोजिम निर्देशन कार्यान्वयन नगरी प्रचलित कानुनविपरीत कार्य रहेको हुँदा दफा २९ (२) बमोजिमको कारबाही किन नहुनु हो ? दफाको (७) बमोजिम पत्र प्राप्त भएको २४ घण्टा भित्र सफाइ पेस गर्न पत्राचार गरिएको छ,’ पोखरेलले एन्फालाई काटेको पत्रमा भनिएको छ, ‘कानुनबमोजिम प्रक्रिया पूरा नहुँदासम्म संघको साधारणसभा र निर्वाचनसम्बन्धी कार्य स्थगित गर्न पत्रबाटै जानकारी गराइएको छ ।’
क्लबहरूले तोडे नौ दिनदेखिको अनशन
सहिद स्मारक लिगका क्लबहरूले नौ दिनदेखिको अनशन मंगलबार तोडेका छन् । ‘होम एन्ड अवे’ लिगको माग गर्दै क्लबका प्रतिनिधि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको गेटबाहिर अनशन बसेका थिए । तर, उनीहरू जुस पिएर उक्त अनशन तोडेका हुन् । ‘विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै जारी रहेको रिले अनशन हाललाई स्थगित गरिएको जानकारी गराइन्छ । साथै, भविष्यमा थप सशक्त र प्रभावकारी ढंगले हामीबिच भएको होम एन्ड अवे प्रणालीसम्बन्धी सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कार्यक्रम बनाई अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ,’ क्लबहरूले संयुक्त रूपमा निकालिएको विज्ञप्तिमा भनिएका छन् ।
क्लब प्रतिनिधिहरूले राष्ट्रिय लिग र सहिद स्मारक महिला लिगमा सहभागी खेलाडीहरूको व्यवस्थापन, बिदाइ, र क्लबको आर्थिक व्यवस्थापनसम्बन्धी असहज अवस्था समाधान गर्नुपर्ने भएकाले अनशन स्थगन गर्ने निर्णय लिएको बताए । एन्फा तथा सहिद स्मारक क्लबहरूबिच भएको सम्झौता कार्यान्वयनको माग राख्दै सहिद स्मारक क्लबहरूले २ चैतदेखि रिले अनशन सुरु गरेका थिए । यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ‘ए’ डिभिजन लिग ३० चैतदेखि गर्ने सहमति भएको थियो । त्यहीअनुरूप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो । तर, क्लबहरूले यो सहमतिलाई एकलौटी भनेका छन् ।