सभापति थापाकै अध्यक्षतामा आज कांग्रेस केन्द्रीय समिति बैठक

मुख्य एजेन्डा नियमित महाधिवेशन

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापाकै अध्यक्षतामा मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठकमा पार्टीको १५औँ नियमित महाधिवेशनको एजेन्डामा छलफल हुने जनाइएको छ । 

निर्वाचनमा पार्टीको हारप्रति नैतिक जिम्मेवारी लिँदै सभापति थापाले राजीनामा दिएका थिए । चुनावी हारबारे समीक्षा गर्न यसअघि बसेको कार्यसमिति बैठक थापाको राजीनामा अस्वीकृत गर्दै आइतबार सकिएको थियो । थापा अनुपस्थित उक्त बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए । चुनावमा हारका कारण अन्तर्घातलगायत अन्य विषय भएको र विशेष महाधिवेशन नभएको भए पार्टीको हालत झनै खराब हुने निष्कर्ष निकालेको थियो । 

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता सभापति थापाले नै गर्ने बताए । ‘राजीनामा अस्वीकृत भइसक्यो । उहाँ (सभापति थापा) बैठकमा आउनुहुनेछ,’ उनले भने, ‘पार्टीको १५औँ नियमित महाधिवेशन र यसको प्रक्रियामा छलफल गर्न बैठक बोलाइएको हो । बोल्ने साथीहरू धेरै हुनुभयो भने महाधिवेशनको समयतालिका अलिक पछि आउँछ, नभए एउटा समयतालिकाका बारेमा छलफल होला ।’

विशेष महाधिवेशनअघि १८ पुसमा कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ सम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पार्टीका सबै तह र पदाधिकारीको म्याद जेठ मसान्तसम्मका लागि थपेको थियो । अहिले पनि कांग्रेसमा जेठ मसान्तभित्र नियमित महाधिवेशन हुनुपर्ने आवाज उठेको छ । इतरसमूहले पनि पार्टीमा महाधिवेशनका लागि दबाब दिन थालेको छ । यही साता पूर्वसभापति शेरबहादुर देउवानिकट र वरिष्ठ नेता डा. शेखर कोइरालानिकट समूहले निवर्तमान केन्द्रीय कार्यसमितिको बैठक राख्ने तयारी गरेको छ । 

पार्टी महामन्त्री घिमिरेले पार्टीका असन्तुष्टि विधिभित्रबाट समाधान खोज्ने स्थान रहेको भन्दै महाधिवेशनले निकास दिने बताए । ‘हामीले विधिसम्मत समाधान खोज्नुपर्छ, त्यो भनेको अब महाधिवेशन मात्रै हो । कांग्रेस सबैको हो, कांग्रेस बनाउन निवर्तमान नेतृत्व, वर्तमान नेतृत्व, केन्द्रीय समितिका, बाहिरका, नयाँ, पुराना सबै नेताहरूको उत्तिकै योगदान छ । अहिले पार्टी सबैको साझा भएको छ, साझा बनाउन नखोज्दा पार्टीमा समस्या थियो, अब समस्या छैन,’ महामन्त्री घिमिरेले भने, ‘पार्टी अघि बढिरहेको छ । पार्टीभित्रका असन्तुष्टिहरू छन् भने छलफल र संवादका ढोका खुला छन् । असन्तुष्टि सुन्छौँ र सबैलाई समेटेर अघि बढ्छौँ ।’ उनले छिटोभन्दा छिटो नियमित महाधिवेशन आयोजना गर्नेबारे बैठकले निर्णय गर्नेसमेत बताए । 

सुझावित समाचार