आइतबार : १० बजेसम्मका १० खबर

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। ६ देखि ८ चैत्रसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।

सभापति थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। बैठकमा उपसभापति शर्माले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेस गरेका थिए।

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबिच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। उनीहरूबिच आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन्। उनले छोटो समयमै देशलाई लोकतान्त्रिक निकास दिन सफल भएको भन्दै सरकारको प्रशंसा गरे।

भेटमा प्रधानमन्त्री कार्कीले सभापति लामिछानेलाई सुझाव दिँदै भनिन् , अहिले देश रोएको छ। तपाईँ युवाहरूसँग देशवासीले ठुलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नू।'

कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले जेन-जी प्रदर्शनका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार र आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनाए नयाँ रेकर्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा सबैभन्दा लामो समय शासन गरेर नयाँ कीर्तिमान बनाएका छन्। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदी सरकार प्रमुखको पदमा बसेर काम गरेको ८९३१ दिन पुगेको छ। यसअघि यो रेकर्ड सिक्किममा पूर्वमुख्यमत्री पवन चाम्लिङको नाममा थियो। उनले ८९३० दिन सरकार प्रमुख भएर काम गरेका थिए। 

राज्यका हरेक तह र तप्कामा माझी समुदायको सहभागिता गराउन माग

अति सीमान्तकृत समूहभित्र पर्ने माझी समुदायका अगुवाहरूले राज्यका विभिन्न तह र तप्कामा यो समुदायकाे प्रतिनिधित्व समेट्न माग गरेका छन् । आफ्नै विशेषता बोकेको यस जाति सीमान्तकृत समुदायका रूपमा रहेको र हाल संघ र प्रदेशको राजनीतिक तहमा यस समुदायको उपस्थिति नभएको, समावेशिता र सहभागिताका हिसाबले यो जाति अति पछि परेको, आफ्नो समुदायको प्रतिनिधित्व नहुँदा समुदायका समस्या र माग उठान गर्न कठिन भएको भन्दै माझी समुदायका अगुवाहरूले यस्तो माग गरेका हुन् । 

फेक रेस्क्युमा ३२ जनाविरुद्ध मुद्दा दायर, राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउने निर्णय

नेपालमा पदयात्रामा आउने पर्यटकको बिमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार पाँच सय रुपैयाँले घटेको छ। केही समयदेखि निरन्तर उकालो लागेको सुनको भाउ  घटेर तोलामा दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

पछिल्लो एक साताको अवधिमा मात्रै सुनको मूल्य २७ हजार चार सय रुपैयाँले घटेको छ।

मातृभाषामा शपथ लिन तीन दिनअघि जानकारी दिनुपर्ने

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था छ। शपथ लिनु तीन दिनअघि संसद् सचिवालयलाई भाषा जानकारी दिनुपर्नेछ।

शपथसम्बन्धी ऐन, २०७९ अनुसार शपथ नेपाली भाषामा लिनुपर्ने भए पनि मातृभाषामा लिन सकिने प्रावधान छ, जसका लागि शपथको प्रमाणित अनुवाद पेस गर्नुपर्नेछ। सदस्यहरूले शपथ लिँदा पहिचान झल्किने औपचारिक पोसाक लगाउन पाउने व्यवस्था पनि छ।

नेपाल र हङकङबिचको खेल स्थगित, राखेपले रंगशाला नदिएको आरोप

नेपाल र हङकङबिचको खेल स्थगित भएको छ। अखिल नेपाल  फुटबल संघ (एन्फा)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता नहुने जानकारी गराएको छ।

१२ चैतमा नेपाल र हङकङबिचको खेल दशरथ रंगशालामा हुने तय थियो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रंगशाला नदिएपछि खेल स्थगित भएकाे एन्फाले बताएकाे छ। पछिल्लो समय एन्फा र राखेपबिच मनमुटाव बढ्दा खेल स्थगित भएको बुझिएको छ।

नेप्से ५४ अंकले बढ्दा कारोबार रकम साढे २३ अर्बमाथि

आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ५४.५१ अंकले वृद्धि भएर दुई हजार ९३१.५५ विन्दुमा कायम भएको छ। आज सेयर बजार परिसूचक १.८९ प्रतिशतले उकालो लागेको हो।

आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख सात हजार कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरमा किनबेच भएको छ। अघिल्लो दिन पौने २१ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो।

See More On

सुझावित समाचार