ताप्लेजुङको सिरिजंघामा ज्येष्ठ नागरिकलक्षित निःशुल्क दन्त शिविर

२० भन्दा बढी दाँत नभएकालाई नयाँ दाँत लगाइने

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

 सिरिजंघा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिँदै निःशुल्क दन्त उपहार शिविर सञ्चालन गरिने भएको छ। ग्रामीण क्षेत्रमा दन्त उपचारको पहुँच कमजोर रहेको अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले यस्तो शिविर आयोजना गर्न लागेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले आगामी चैत १५ र १६ गते पालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शिविर सञ्चालन हुने जानकारी दिएका छन्। शिविर पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको प्राविधिक सहयोगमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए ।गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले शिविरमा सबै उमेर समूहका नागरिकलाई दन्त परीक्षण सेवा उपलब्ध गराइने बताए। दाँतमा समस्या देखिएका बिरामीलाई आवश्यक परे दाँत उखेल्ने (एक्स्ट्र्याक्सन) सेवासमेत प्रदान गरिनेछ। 

विशेष व्यवस्थाअनुरूप ६० वर्षभन्दा माथिका तथा २० वटाभन्दा बढी दाँत गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत (डेन्टल सेट) लगाइने कार्यक्रम राखिएको उपाध्यक्ष लिम्बूले जानकारी दिए। शिविरबाट सिरिजंघा गाउँपालिकाभित्रका नागरिकले मात्र सेवा लिन पाउनेछन्। गाउँपालिकाले यस्तो कार्यक्रमले ज्येष्ठ नागरिकको जीवनस्तरमा सहज हुने अपेक्षा गरिएको छ। 
 

सुझावित समाचार