बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स सुर्खेतमा शुक्रबार राति तोडफोड र चालकमाथि हातपात भएको छ। रुकुम पश्चिमको चौरजहारीबाट बिरामी बोकेर नेपालगन्जतर्फ जाँदै गरेको सल्यान कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ भ ०१३८ नम्बरको एम्बुलेन्समाथि अज्ञात समूहले आक्रमण गरेको हो।
सुर्खेतको छिन्चुनजिकै पर्ने रामघाटमा राति करिब १० बजेको समयमा ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको एम्बुलेन्सचालक वसन्त शर्माले जानकारी दिए। एम्बुलेन्समा बिरामी र एकजना कुरुवा थिए। गाडीबाट तानेर आक्रमणकारीहरूले कुटपिट गरेको उनकाे भनाइ छ। ज्यानको जोखिम भएपछि भागेको र आफू भागेपछि एम्बुलेन्समा समेत तोडफोड गरेको शर्माले बताए।
चालक शर्माका अनुसार आक्रमणकारीहरूले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासि चालकमाथि हातपात सुरु गरेका थिए। चालक शर्माले घटनापछि प्रहरीलाई जानकारी गराएपछि करिब आधा घण्टामा प्रहरी घटनास्थलमा पुगेको थियो। तर, प्रहरी घटनास्थल पुग्दासम्म आक्रमणकारीहरू भागिसकेका थिए।
तोडफोड भएकै अवस्थामा एम्बुलेन्सले बिरामीलाई लिएर सोही रात नेपालगन्ज पुग्न सफल भएको चालक शर्माले जानकारी दिए। उनले भने, ‘बिरामीको सेवामा रातदिन खटिने एम्बुलेन्सचालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद हो। दोषिमाथि कारबाही होस ।’