पछिल्लो समय देशका विभिन्न स्थानबाट जलन भएका बिरामी अस्पतालमा आउने गरेका छन् । आगो, तातो पानी, तातो तेल, तातो वस्तु तथा बिजुलीका कारण पोलेर बिरामी भएको पाइएको छ । गाउँमा आगो ताप्दा वा घरभित्र आगो बाल्दा जलनका घटना बढी देखिएको छ । विशेषगरी, साना बालबालिका, वृद्धवृद्धामा जोखिम बढी हुन्छ ।
नवजात शिशुको छाला धेरै कोमल हुने भएकाले धेरै नजिकबाट आगो सेक्दा छाला पोल्न सक्छ । त्यसैले, बच्चालाई सेकाउँदा विशेष ध्यान दिनुपर्छ । ठुला बच्चा हिँड्डुल गर्न थालेपछि दाउराको चुलो वा आगो नजिक जान सक्छन्, जसले जलनको जोखिम बढाउँछ ।
तातो राख्न प्रयोग गरिने हट वाटर ब्याग पनि जोखिमपूर्ण हुन सक्छ । राम्रोसँग बन्द नभएमा पानी चुहिएर पोल्न सक्छ । नेपालमा धेरैजसो जलनका घटना आगो (करिब ६० प्रतिशत), तातो तेल वा पानी (करिब २५ प्रतिशत) र विद्युतीय कारण (करिब १५ प्रतिशत) बाट हुने गरेका छन् । ग्रामीण क्षेत्रमा जलनका घटना बढी देखिन्छन् ।
जलन भएमा सही समयमा सही प्राथमिक उपचार गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । यसले घाउ गहिरो हुनबाट जोगाउँछ र जटिलता कम गर्छ । जलन हुँदा धेरै दुखाइ हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा दुखाइ कम गर्ने औषधी प्रयोग गर्न सकिन्छ । जलन भएको घाउमा संक्रमण हुने जोखिम उच्च हुने भएकाले नियमित रूपमा सफा गर्ने (ड्रेसिङ गर्ने) आवश्यक हुन्छ ।
के गर्नुहुँदैन ?
जलन हुँदा केही स्थानमा गोलभेडा, गोबर, एलोभेरा वा बरफ लगाउने चलन छ । तर, यस्ता कुनै पनि वस्तु लगाउनुहुँदैन । विशेषगरी बरफ (आइस) लगाउँदा रगतका नसा साँघुरो भई घाउ झन् गहिरो हुन सक्छ ।
गोबर वा अन्य फोहोर वस्तुले संक्रमण गराउँछ र धनुष्टंकर (टिटानस) जस्ता रोग निम्त्याउन सक्छ । कुनै पनि वस्तु लगाउँदा घाउमाथि तह बस्छ र भित्रको ताप बाहिर निस्कन नपाई घाउ झन् गहिरो हुन्छ ।
जलन भएपछि तुरुन्तै निम्न चरण अपनाउनुपर्छ । सुरक्षित स्थानमा जानुपर्छ । दौडनु हुँदैन, यसले आगो झन् बढ्न सक्छ । भुइँमा लडिबुडी गरेर आगो निभाउन सकिन्छ । अरूको शरीरमा आगो लागेको छ भने बाक्लो कपडाले छोपेर निभाउनुपर्छ । शरीरमा टाँसिएका तातो कपडा वा गहना तुरुन्त हटाउनुपर्छ ।
पोलेको भागलाई कम्तीमा २०–३० मिनेटसम्म बग्ने सफा चिसो पानीले धुनुपर्छ । जमेको पानीमा डुबाउने होइन, बग्ने पानी प्रयोग गर्नु राम्रो हुन्छ । घाउलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको अस्पतालमा लैजानुपर्छ । यदि अस्पताल टाढा छ भने बिरामीलाई पानी वा जीवनजल खुवाउँदै लैजानु राम्रो हुन्छ ।
समयमै चिसो पानीले धोएमा घाउ गहिरो हुनबाट बचाउन सकिन्छ । गहिरो घाउ भएमा शल्यक्रिया आवश्यक पर्न सक्छ । जलनका बिरामीलाई सुरुका २४ घण्टामा पर्याप्त सलाइन (तरल पदार्थ) दिनु अत्यन्त आवश्यक हुन्छ, किनकि शरीरमा पानीको मात्रा घट्छ । पानीको कमीले शरीरका भित्री अंगमा असर पर्न सक्छ । बिरामीलाई सम्भव भएसम्म मेडिकल टोलीसहित एम्बुलेन्समा अस्पताल ल्याउनु राम्रो हुन्छ । सुरुका दिनमा जीवनजल, पानी र पोषिलो खाना दिनु पनि आवश्यक हुन्छ ।