- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत ७ गते शनिबारदेखि चैत १३ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भेटघाटमा मन रमाउनुका साथै महत्वपूर्ण कार्य अघि बढ्नेछन् । काम गरेर अरूलाई प्रभावित पार्ने समय रहेको छ । नयाँ काम थालनी होला । प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । विद्यामा पनि प्रगति हुनेछ । व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । बिहीबार र शुक्रबार भने काममा बाधा होला । खर्च र थकाइसमेत बढ्ने योग रहेको छ । धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा धार्मिक वा सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक यात्राको योग जुरेको छ । रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ । वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बोलीकै भरमा महत्वपूर्ण काम बन्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा घरायसी समस्याले घेर्नेछन् । प्रेमसम्बन्धमा उतारचढाव आउला । चोटपटक लाग्ने सम्भावना छ । कामको दायित्व बढ्नेछ । धार्मिक कृत्यमा अभिरुचि बढ्नेछ । गरेको काममा प्रशंसा पाइएला । नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । विलासी दिनचर्याबाट बच्नुपर्ने समय छ । मित्र सहयोगीबाट काममा शुभ छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्रा गर्ने अवसर आउनेछ । शैक्षिक क्षेत्रबाट सोचेअनुसार सफलता मिल्नेछ । विद्यार्थीका लागि अध्ययनशील समय छ । नयाँ कामको जिम्मेवारी मिल्नेछ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । साताको अन्त्यमा कीर्तिमानी काम गर्ने मौका मिल्नेछ । सामाजिक काममा मन लाग्नेछ । धार्मिक यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको प्रारम्भमा अधुरा या रोकिएका काम बन्नेछन् । शिक्षामा सोचेअनुसार सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । रमाइलो जमघटमा आफ्ना विचार राख्न पाइनेछ । बिहीबार र शुक्रबार केही समस्यामा परिनेछ । अनावश्यक झमेला आइलाग्न सक्छन् । विवाद बढ्ने र चोटपटक लाग्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । आयआर्जनमा सुधार आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिष्ठित बुद्धिजीवीसँग भेटघाट गर्ने मौका मिल्नेछ । शैक्षिक क्षेत्रमा विशेष लाभदायक समय छ । व्यावसायिक कामबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जानेछन् । मुद्दासमेत किनारा लाग्नेछन् । प्रेमसम्बन्ध प्रगाढ बन्नेछ । तर, साताको अन्त्यमा पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउने ग्रहयोग रहेको छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पठनपाठनमा राम्रो प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । व्यापार–व्यवसायमा पनि प्रगति गर्न सकिनेछ । प्रतिस्पर्धीहरू स्वत: निष्क्रिय होलान् । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । साताको अन्त्यमा रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । तर, केही व्यक्तिसँग मत–मतान्तरसमेत हुने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रतिस्पर्धामा फाइदा उठाउने समय रहेको छ । बुधबार र बिहीबार भने निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्नेछन् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । साताको अन्त्यमा शत्रु पराजित हुनेछन् । नयाँ जिम्मेवारीका साथ कामको थालनी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बोलीको भरमा विशेष काम बन्ने समय रहेको छ । तपाईंका प्रशंसक थपिनेछन् । उद्योग–व्यवसायमा पनि सोचेअनुसार सफलता मिल्नेछ । बुधबार र बिहीबार भने अरूको भर पर्ने समय छैन । आफन्तप्रति शंका जाग्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा पनि समस्या आउला । साताको अन्त्यमा पठनपाठनमा प्रगति हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजमा जाने मौका मिल्नेछ । पारिवारिक जमघट हुने योग रहेको छ । सहयोगीले साथ दिनेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जानेछ । आम्दानी पनि बढ्नेछ । साताको अन्त्यमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने योग छ । सानो गल्तीले धोका पाइने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अनावश्यक काममा ढिपी गर्दा पैसा र समय खेर जानेछ । वैदेशिक वा टाढाको यात्रा सम्भावित छ । मंगलबारदेखि समय अनुकूल रहनेछ । विशेष व्यक्तित्वसँग भेटघाट हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । प्रशंसकहरू बढ्नेछन् । साताको अन्त्यमा काममा उत्साह थपिनेछ । सानो प्रयत्नले ठुला काम बन्ने समय छ । मनपर्ने वस्त्र वा सरसामान उपहार पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रतिस्पर्धी पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौती सजिलै पार लाग्नेछन् । बुधबार भने आकस्मिक खर्च बढ्नेछ । सत्कार्यमा गरेको लगानीबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त फाइदा उठाउने मौका छ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ ।