धनुषामा नयाँ पत्रिकाकर्मीसहित चारजना सम्मानित

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशको पौराणिक र धार्मिक स्थलको रूपमा रहेको धनुषाको धनुषाधामस्थित रेडियो धनुषा ९९.७ मेगाहर्जको छैटाैँ वार्षिकोत्सवको अवसरमा नयाँ पत्रिकाकर्मीसहित चारजना पत्रकारलाई सम्मान गरिएको छ।

ग्रेटर मधेश मिडिया प्रालिद्वारा सञ्चालित रेडियोको शुक्रबार धनुषाधाममा आयोजित वार्षिकोत्सव समारोहमा नयाँ पत्रिकाका सिराहा संवाददाता मणिलाल विश्वकर्मासहित बिबिसी नेपाली सेवा मधेश प्रदेश समाचारदाता माधुरी महतो, गोरखापत्र दैनिकका विजयकुमार साह र रेडियो मिथिलामा कार्यरत मनीष साह ‘मैथिल’लाई नगद र सम्मानपत्रसहित सम्मानित गरिएको हो।

धनुषा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादव तथा सबैला नगरपालिका प्रमुख कारीराम यादवलगायतको उपस्थितिमा जनही नगद पाँच हजार र सम्मानपत्रसहित सम्मानित गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रतिनिधिसभा सदस्य यादवले जनता, राष्ट्रियता र जनजीविकाको सवालमा रेडियोले स्थानीयस्तरमा खेलेको भूमिकाको प्रशंसा गर्दै हालै सम्पन्न निर्वाचनपछिको सन्दर्भमा उत्पन्न भ्रमहरूलाई चिर्दै सही र तथ्यपरक सूचना प्रवाह गर्न आग्रह गरे।

काउन्सिलका कार्यवाहक अध्यक्ष यादवले जिल्ला सदरमुकामभन्दा टाढा ग्रामीण क्षेत्रमा रेडियोमार्फत स्थानीय सरोकारका विषयहरूमा रेडियोले जनताको सही सूचना पाउने हकका खातिर निरन्तर काम गरिरहेको बताए। ‘आवाज खोसिएका र दबाइएका दलित, मधेशी, महिला, सीमान्तकृत समुदायको हक–अधिकार र न्यायका लागि रेडियोले निरन्तर आवाज उठाइरहनुपर्छ,’ उनले भने।

कार्यक्रममा ग्रेटर मधेश मिडिया प्रालिका अध्यक्ष मुकेशकुमार ठाकुरले कोरोना महामारीको अत्यन्त चुनौतीपूर्ण र कठिन समयमा स्थापना भएको रेडियोले विभिन्न आरोह–अवरोह छिचोल्दै छैटाैँ वार्षिकोत्सवसम्म आइपुग्नुमा स्थानीय शुभेच्छुक, विज्ञापनदाताहरूको ठुलो योगदान रहेको बताए। कार्यक्रममा रेडियोका उत्कृष्ट संवाददाता, श्रोता, विज्ञापनदाताहरूलाई समेत प्रशंसापत्र वितरण गरिएको थियो।

सुझावित समाचार