एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । एनएमबिले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न संघ–संस्थालाई सहयोग गरेको छ । पोखरास्थित न्युरोडमा प्रधान कार्यालय रहेको एनएमबिले वार्षिकोत्सवको अवसरमा पोखरा २५ हेम्जास्थित मानव सेवा आश्रमका आश्रितलाई खाना खुवाउने, हेम्जाकै विष्णुपादुका माविलाई एक थान प्रिन्टर सहयोग गरेको कामु प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी दिए ।
पोखरासँगै एनएमबिले सातवटै प्रदेश कार्यालयमार्फत विभिन्न संघ–संस्थालाई सहयोग गरेको खड्काले बताए । खड्काका अनुसार इटहरी प्रादेशिक कार्यालयले सुनसरीको रामधुनी– ३ स्थित पञ्चायत माविलाई एक थान रंगीन प्रिन्टर, बर्दीबास प्रादेशिक कार्यालयले इलाका प्रहरी कार्यालय, ढल्केवरलाई फर्निचर सामग्री सहयोग गरे ।
त्यस्तै, धुलिखेल प्रादेशिक कार्यालयले पनौती– ५ स्थित महर्षि गुरुकुलमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण, सिद्धार्थनगर प्रादेशिक कार्यालयले सूर्यपुरा माविमा शैक्षिक सामग्री वितरण, कर्णाली प्रादेशिक कार्यालयले चौरजहारी– ११, खोलागाउँस्थित हिमालय नमुना माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसँगै धनगढी प्रादेशिक कार्यालयले बर्दगोरिया– २ स्थित सहारा घरलाई खाद्य सामग्री सहयोग गरेको उनले जानकारी दिए ।