- राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अपिल– विशेष काम नपरी यात्रामा ननिस्कनू
आज (शुक्रबार) र भोलि (शनिबार) देशका अधिकांश ठाउँमा भीषण हावाहुरी र चट्याङसहित असिनापानी पर्ने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस्तो अवस्था शुक्रबार पश्चिमी क्षेत्रमा र शनिबार पूर्वी क्षेत्रमा हुनेछ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यी दुई दिन सतर्कता अपनाउन अपिल गरेको छ ।
पश्चिमी वायु सक्रिय भएका वेला न्यूनचापीय प्रणाली पनि भित्रिएकाले बादल, हावाहुरी र पानीका गतिविधि बढेको विभागका मौसमविद् रोजन लामिछानेले बताए । उनका अनुसार पश्चिम नेपालमा बिहीबार रातिदेखि नै पानी पर्न थालेकोमा शुक्रबार बढ्नेछ ।
‘दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिन्छ । शुक्रबार पश्चिम क्षेत्रमा वर्षा हुन्छ र बिस्तारै पूर्वतिर सर्दै गएर शनिबार पूर्वकेन्द्रित हुन्छ,’ मौसमविद् लामिछानेले भने, ‘देशभर वर्षा हुने भए पनि पश्चिमका केही ठाउँमा भने ठुलो वर्षा हुन सक्छ । यसबाहेक हावाहुरी, चट्याङ र असिनापानीको पनि सम्भावना छ ।’
शनिबार दिउँसोबाट पश्चिमतिरबाट मौसममा सुधार सुरु भएर शनिबार रातिदेखि देशका धेरै ठाउँमा मौसममा सुधार आउने पनि विभागले जनाएको छ । केही ठाउँमा भने आइतबारसमेत वर्षाको सम्भावना रहेको जनाएको छ ।
कहाँ कहिले पर्छ पानी ?
शुक्रबार दिउँसो : देशभर बादल लाग्नेछ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थान तथा गण्डकी, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
शुक्रबार राति : देशभर बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षाको आकलन छ ।
शनिबार दिउँसो : देशभरका अधिकांश क्षेत्रमा बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना छ ।
शनिबार राति : कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
पश्चिममा दाङ–नेपालगन्ज र पूर्वमा विराटनगर–धरान–धनकुटा क्षेत्रमा दिउँसोपख प्रतिघण्टा ११९ किलोमिटरका दरले हुरी चल्ने आकलन
जल तथा मौसम विज्ञान विभागका अनुसार हावाहुरी पनि शुक्रबार पश्चिम र शनिबार पूर्वी क्षेत्रमा चल्नेछ । विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार अपराह्नतिर (१–२ बजेतिर) दाङ, बाँकेको नेपालगन्जसहितका क्षेत्रमा तीव्र गतिको हावा चल्ने देखिएको छ । हावाको गति प्रतिसेकेन्ड झन्डै ३३ मिटर (प्रतिघण्टा ११९ किलोमिटर)का दरले चल्ने सम्भावना रहेको उनले बताइन् । यसबाहेक सुदूरपश्चिम र लुम्बिनीका तराईसँगै पहाडी क्षेत्रमा पनि हावाहुरीको सम्भावना छ । हावाहुरी बागमतीमा समेत चल्ने देखिए पनि बाँके र दाङको तुलनामा वेग कम हुने आकलन गरिएको छ ।
त्यस्तै, शनिबार पूर्व क्षेत्रका विराटनगर, धनकुटा र धरानआसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको पोखरेलले बताइन् । शनिबारको हावाको वेग पनि प्रतिघण्टा ११९ किलोमिटरहाराहारी रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार जनकपुर, सिमरा क्षेत्रमा पनि ठुलो हावाहुरीको सम्भावना छ । ‘यस्तो हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ,’ उनले भनिन्, ‘शुक्रबार र शनिबार सजग हुनुपर्ने देखिन्छ ।’
सतर्कता अपनाउन प्राधिकरणको अपिल
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार वर्षासँगै हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपिल गरेको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले विज्ञप्ति जारी गरी तीव्रगतिको हावाहुरी चल्न सक्ने क्षेत्रमा बसोबास तथा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका वेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान भनेका छन् ।
‘हावाहुरी चलेका वेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।