नेपालमा सञ्चालित महिला तथा पुरुष फुटबल लिगमा श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेलाएपछि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। आजदेखि अनुगमन गर्ने र श्रम स्वीकृति नलिई खेल्नेउपर कारबाही गरिने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए।
विभागले बिहीबार अखिल नेपाल फुटबल संघलाई पत्राचार गरी श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडीलाई खेलाउन निर्देशन दिएको छ। पर्यटक भिसामा रहेर विदेशीले नेपालका फुटबल लिग खेल्दै आएको सूचनाका आधारमा विभागले छानबिन र कारबाही अघि बढाउन लागेको हो।
