समुद्री जहाजको निगरानी गर्ने संस्थाका अनुसार इरानले स्ट्रेट अफ हर्मुजबाट सानो तर बढ्दो संख्यामा व्यावसायिक जहाजलाई पार गर्न अनुमति दिइरहेको छ । समुद्री गुप्तचर कम्पनी ‘विन्डवर्ड’ले मंगलबार बताएअनुसार इरानी झन्डाबाहकबाहेक आठ जहाज सोमबार सो साँघुरो समुद्री मार्गबाट बाहिरिए ।
ती जहाजका स्वचालित पहिचान प्रणालीमार्फत यो तथ्यांक प्राप्त भएको विन्डवर्डले जनाएको छ । विन्डवर्डका अनुसार सोमबारको जहाजको संख्या केही दिनअघिको भन्दा ‘लगभग दोब्बर’ हो ।
‘इरानको क्षेत्राधिकारमा पर्ने हर्मुज हुँदै जहाज चल्न थालेका छन् । तेहरानले आफ्ना मित्र देशलाई अुमतिमा आधारित ट्रान्जिट दिएजस्तो देखिन्छ,’ विन्डवर्डकी विश्लेषक मिसेल विस बोकम्यानले बताइन् ।
‘पश्चिमी देशका जहाज अहिले हर्मुजमा चल्न नसक्दा सम्भवत: चिनियाँ, भारतीय र अन्य तेहराननजिकका देशका जहाज चलिरहेका छन्,’ बोकम्यानले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् । अर्को समुद्रमा चल्ने जहाजको ट्र्याक गर्ने संस्था मरिनट्राफिकले पनि आइतबार नौवटा जहाज हर्मुजबाट बाहिरिएको देखाउँछ, जुन त्यसअघिका दुई दिनमा जम्मा पाँच थियो । युद्ध सुरु भएपछि इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’का प्रवक्ताले यो भागबाट बाहिरिने कुनै पनि जहाजमाथि आक्रमण हुने चेतावनी दिएका थिए ।
संयुक्त राज्य अमेरिका र इजरायलको इरानमाथिको युद्ध सुरु भएदेखि सामान्यतया विश्वव्यापी तेल आपूर्तिको लगभग २० प्रतिशत तेल बाहिरिने स्ट्रेट अफ हर्मुजबाट तेलको ढुवानी ९५ प्रतिशतभन्दा बढी गिरावट आएको छ । यस अवरोधले विश्वबजारमा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जुन युद्ध सुरु हुनुअघिको तुलनामा ४० प्रतिशतभन्दा बढी हो ।