हावाहुरीले ताप्लेजुङमा घरका छाना उडे, वडा कार्यालयसमेत ध्वस्त, ७५ लाखभन्दा बढीकाे क्षति

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

वर्षासँगै आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङका गाउँहरूमा हुरीले घरका छाना उडाउनुका साथै सार्वजनिक भवन भत्काउँदा डेढ दर्जनभन्दा बढी संरचना क्षतिग्रस्त भएका छन् ।  प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ७५ लाख ५० हजार रुपैयाँबराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको तीव्र हावाहुरीले जिल्लाका विभिन्न पालिकामा घर, गोठ र सार्वजनिक संरचनामा क्षति पुर्याएको हो। प्रारम्भिक तथ्यांकले सिदिङ्वा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको देखाएको छ। सिदिङ्वा गाउँपालिका– २, सादेवास्थित पुरानो वडा कार्यालय भवनको छाना हावाहुरीले उडाउँदा मात्र करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही वडामा रहेको खाद्यान्न पिस्ने मिलको छाना उडाउँदा करिब दुई लाख रुपैयाँबराबरको नोक्सानी भएको वडाध्यक्ष पूर्णबहादुर लिम्बूले बताए।

‘हुरी निकै बलियो थियो, केहीबेरमै छाना उड्यो,’ स्थानीयहरूले बताएका छन् । गाउँपालिकाको वडा नं. ३ आङ्खोपमा स्थानीय राजन बराइलीको जस्तापाताले छाएको घरको छाना उडउँदा एक लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ। वडा नं. ५ लिम्बुदिनस्थित याङ्खापामा विराज इधिङ्गो र रत्नबहादुर इधिङ्गोका खरले छाएका घरका छाना उडउँदा करिब चार लाख रुपैयाँबराबरको नोक्सान पुगेको प्रहरीले जनाएको छ।

लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार हावाहुरीका कारण सिमल र बरका रूख ढलेर चुङबुङ टोलका टीका राईको घरमा क्षति पुगेको छ। सोही स्थानमा रहेको अम्बिका आधारभूत विद्यालयको शौचालयसमेत भत्किएको छ। सिदिङ्वा गाउँपालिका– ६, मेहेलेमा चन्द्रबहादुर कामी, रूपमाया राई, देवीप्रसाद गौतम, मनकुमार राई, अमृत लिङ्देन, सञ्जीव राई र कलादेवी राईका घरमा हावाहुरीले क्षति पुर्याएको छ। जस्तापाता तथा फुसले छाएका घरका छाना उड्दा पाँच लाख ८० हजार रुपैयाँबराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

मेहेलेकै केशरमान राई र सुजन राईको स्मृतिमा निर्माण गरिएको पक्की धर्मशाला (विश्रामस्थल)मा रूख ढलेर भत्किँदा तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। त्यसैगरी सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिममा फूलमाया गुरुङ, मानबहादुर कामी र लक्ष्मण पाँचकोटीका घरका छाना उडाउँदा सात लाख १० हजार रुपैयाँबराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

हावाहुरीको असर अन्य पालिकामा पनि परेको छ। पाथीभरा याङ्वरक गाउँपालिका– ५ चाक्सीबोटेको फाक्से दोभानमा हर्कबहादुर तामाङको घरको छाना उडाउँदा एक लाख ५० हजार रुपैयाँबराबरको नोक्सानी भएको छ। त्यस्तै, आठराई त्रिवेणी गाउँपालिका– ३, हाङ्पाङमा धनबहादुर बराइलीको कच्ची घरको छाना उडाउँदा ४० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी रहेको छ भने स्थानीय तहहरूले प्रभावित परिवारलाई राहत तथा पुनर्निर्माणका लागि सहयोगको तयारी थालेका छन्।
 

सुझावित समाचार