एसियाली फुटबल महासंघ (एएफसी)ले मलेसियाले नेपाल र भियतनामविरुद्ध निकालेको जितको नतिजा उल्ट्याएको छ । मलेसियाले नक्कली कागजात प्रयोग गरी राष्ट्रिय टोलीमा सातजना खेलाडी उतारेको प्रमाणित भएपछि एएफसीले मंगलबार एसियन कप– २०२७ छनोटमा नेपाल र भियतनामलाई ३–० को प्राविधिक जितको मान्यता दिएको हो । एएफसीको अनुशासन तथा आचारसंहिताको धारा ५६ उल्लंघन गरेको आरोपमा मलेसियालाई दुई खेलमा ‘फोर्फिट’ हार दिएको जनाएको छ । गत वर्ष छनोट खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो ।
यस निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ । यसअघि शीर्ष स्थानमा रहँदै मलेसिया एसिया कपमा छनोट भएको थियो । मलेसिया फुटबल संघले विदेशी खेलाडीलाई मलेसियाको नागरिक बनाउन फिफामा झुटो कागजात पेस गरेको भेटिएको एएफसीले जनाएको छ । एएफसीको अनुशासन कमिटीले सो नतिजा खारेज गर्दै नेपाललाई ३–० को जित सुम्पिएको छ । नेपाल पनि एसिया कप छनोटबाट बाहिरिसकेको छ । नेपालले लगातार खेलमा हार सामना गरेको छ ।
प्रतियोगिताबाट बाहिरिएको नेपालले महत्वपूर्ण ३ अंक बटुल्यो । नेपालले मलेसियासँगको एक खेलमा प्राविधिक जित पाए पनि अन्य खेलका नतिजा सुखद रहेन । नेपालले भियतनामसँगको दुवै खेलमा हार सामना गरेको थियो । मलेसियासँगको खेल र लाओससँगको हारका कारण नेपाल तेस्रो चरणबाट गणितीय रूपमै बाहिरिसकेको हो । नेपाल इतिहासमै पहिलोपटक लाओससँग पराजित भएको थियो । लाओसविरुद्धको पहिलो खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
भियतनाम एसिया कपमा छनोट
यस कारबाहीपछि अब समूह ‘एफ’बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भएको छ । यसअघि भियतनाम दोस्रो स्थानमा थियो । अब दोस्रो स्थानको मलेसिया ९ अंकका साथ बाहिरिएको छ । ३ अंकका साथ नेपाल तेस्रो स्थानमा उक्लिएको छ । नेपालमाथि ऐतिहासिक जित निकालेको लाओसको पनि ३ अंक छ । तर, गोलअन्तरमा लाओस चौथो स्थानमा छ । यस समूहबाट एकैपटक मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएको एएफसीले जनाएको छ । एएफसीका निर्णयअघि मलेसिया १६ वर्षपछि एसिया कपमा छनोट भएको थियो । खेलाडीको नक्कली कागजात प्रयोग गरेका कारण मलेसियाले ठुलो क्षति व्यहोरेको छ । यो उनीहरूको फुटबलकै ठुलो धक्का हो । मलेसियाली फुटबल संघले आफूहरूले नागरिकता कानुनी रूपमै दिएको दाबी गर्दै यस निर्णयविरुद्ध थप कानुनी परामर्श लिने जनाएको छ ।
मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना
एएफसीले मलेसियाको अंक मात्रै खोसेको छैन । उसलाई आर्थिक रूपमा समेत जरिवना गरिएको छ । क्वालालम्पुरमै रहेको एएफसीको केन्द्रीय कार्यालयबाट जारी गरेको विज्ञप्तिअनुसार मलेसिया फुटबल संघलाई ५० हजार अमेरिकी डलर जरिवना गराइएको उल्लेख छ । मलेसियाले एक महिनाभित्र जरिवाना रकम बुझाउनुपर्नेछ । यसैबिच, खेलकुदको सर्वोच्च अदालत कासले मलेसियाले सात खेलाडीको नक्कली कागजात बुझाएको निष्कर्ष निकालेको छ ।
एएफसी र कासले फ्याकुन्डो गार्सिया, ग्याब्रियल पाल्मेरो, रोड्रिगो होल्गाडो, इमानोल माचुका, जोआओ फिग्युरेरो, हेक्टर हेभेल र जोन इराजाबाललाई दोषी ठहर गरेका छन् । उनीहरूले मलेसियाको नागरिकता प्राप्त गर्न र खेल्नका लागि कागजात किर्ते गरेको कासको भनाइ छ । एएफसीले दोषी खेलाडीमाथि एक वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । गत वर्षको २५ मार्चमा मलेसियाले नेपालविरुद्ध र १० जुनमा भियतनामविरुद्ध सात विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो । सुल्तान इब्राहिम रंगशालामा मलेसियाले नेपालविरुद्ध २–० र बुकित जलिल राष्ट्रिय रंगशालामा भियतनामलाई ४–० ले हराएको थियो । यी दुई फोर्फिट हारपछि मलेसिया अंकतालिकामा भियतनामभन्दा ६ अंकले पछाडि परेको छ ।
फिफाको अनुशासन समितिबाट पनि कारबाही
फिफा अनुशासन समितिको मंगलबार बसेको बैठकले फिफाको अनुशासन संहिता (एफडिसी)को धारा २२ को उल्लंघन गरेको भन्दै मलेसियालाई कारबाही गरेको छ । फिफाले खेलाडीलाई आर्थिक दण्ड तोकेको छ । फिफाका अनुसार सात खेलाडीले अब फिफालाई दुई हजार स्विस फ्र्यांक बुझाउनुपर्नेछ । यसैगरी मलेसिया फुटबल संघलाई ३५ हजार स्विस फ्र्यांन्क जरिवाना लगाइएको छ । यसअघि गत सेप्टेम्बरमा फिफा अनुशासन समितिले मलेसियालाई कारबाही गरेको थियो । फिफाले मलेसियन फुटबल संघ र खेलाडीले १० दिनभित्र आफ्नो कारबाहीविरुद्ध अपिल समितिमा निवेदन दिन भनिएको थियो । यसको ६ महिनापछि फिफा र एएफसीले कारबाही गरेका हुन् ।
भियतनामविरुद्ध खेल्दै नेपाल
३ अंक बटुलेको नेपालले अब आगामी १७ चैतमा दशरथ रंगशालामा भियतनामविरुद्ध प्रतिस्पर्धा गर्नेछ । भियतनामसँगको खेलसँगै नेपालले एसिया कप छनोट यात्रा पूरा गर्नेछ । नेपालले भियतनामविरुद्ध प्रतिष्ठाका लागि खेल्नेछ । यसैबिच, अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकमा चेतन घिमिरे र बालगोपाल साहुखललाई नियुक्त गरेको छ । एन्फाले १२ चैतमा हङकङविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि साहुखल र घिमिरेलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो । दुवैले अब मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सहयोग गर्ने एन्फाले जनाएको छ । राष्ट्रिय लिगमा साहुखलले सातदोबाटो युथ र घिमिरेले नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालिरहेका छन् । मुख्य प्रशिक्षक एरेनाले प्रारम्भिक प्रशिक्षणमा ४९ खेलाडीलाई बोलाएका छन् ।