पोखरामा खाजाघरको आवरणमा अनैतिक धन्दा चलाउने दुईजना पक्राउ

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई पोखरामा आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिका–१, बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन्। 

    पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटेलको काममा लगाई दिन्छु भनी पीडित महिलाहरूलाई होटेलमा आउने पुरुषहरूबाट रकम लिई जबर्जस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ। साथै, प्रहरीले चारजना पीडितहरूलाई उद्धार गरेको छ। 

उनीहरूउपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेतले बताए। 
 

सुझावित समाचार