राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांसदको शपथपछि बस्ने संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताएका छन् । पार्टीका सांसदलाई मंगलबारदेखि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यससम्बन्धी जानकारी दिएका हुन्।
‘सांसदको शपथपछि तत्कालै संसदीय दलको बैठक बस्छ, त्यही बैठकले दलको नेता चयन गर्छ,’ उनले भने, ‘त्यसपछि मात्र प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ विशेष परिस्थिति नभएकाले सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । यस विषयमा पार्टीभित्र समेत छलफल भइसकेको बुर्लाकोटीले बताए।
रास्वपाले बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । संसदीय दलको नेता चयन भएपछि मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । हालैको निर्वाचनमा रास्वपाले बहुमत ल्याएकाले संसदीय दलको नेता चयनपछि राष्ट्रपतिलाई पत्राचार गर्नेछ ।