सल्यानमा जथाभावी सवारीसाधन पार्किङ गरे २५ सय जरिवाना

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा जथाभावी अव्यवस्थित पार्किङ गरे दुई हजार पाँच सय जरिवाना गरिने भएको छ । श्रीनगरमा आधुनिक बसपार्क सञ्चालनमा आए पनि धेरै यातायात व्यवसायीले बसपार्कभन्दा बाहिर पार्किङ गर्न थालेपछि शारदा नगरपालिका र विभिन्न यातायात व्यवसायीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेकाे हाे । 

बैठकले सम्पूर्ण यात्रुवाहक सवारीसाधनहरू (बस, अटो, रिक्सा, सानो भ्यान गाडी) श्रीनगरको आधुनिक बसपार्कबाट सञ्चालन गर्ने, गराउने र सो कार्यका लागि सम्बद्ध यातायात व्यवसायी तथा प्रालिहरूले  सहयोग र सहजीकरण गर्ने, चैत ५ गतेदेखि कार्यान्वयनमा सम्बद्ध यातायात प्रालिहरूले कडाइका साथ पालना गर्ने,  बसपार्कबाहेक अन्य स्थानबाट यात्रुवाहक सवारीसाधनहरू सञ्चालन गरेको वा सो कार्यलाई प्रोत्साहन गरेमा सम्बन्धित सवारीसाधनलाई जरिवानास्वरूप दुई हजार असुलउपर गर्ने निर्णय गरिनुका साथै बसपार्कबाहेक अन्य क्षेत्रमा  जथाभावी अव्यवस्थित पार्किङ गरेको  पाइएमा जरिवानास्वरूप रु. दुई हजार पाँच सय रकम असुलउपर गर्ने निर्णय भएको शारदा नगरपालिकाले जनाएको छ ।

बसपार्कभित्र यात्रुवाहक सवारीसाधनहरू  प्रवेश तथा पार्किङ गरेबापत बसका  लागि १५०, जिप भ्यानका लागि  एक सय र अटो रिक्साका लागि  ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सवारीसाधनहरूले (दाङ नेपालगन्ज, रुकुम र काठमाडाैंबाट बसपार्क गेटपासबापत तिरेको रकम रसिद एकोहोरो रुटबापत २४ घण्टा अवधि कायम रहने भएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले श्रीनगरको बसपार्कलाई व्यवस्थित गर्न सबैको हातेमालो आवश्यक पर्ने बताए । उनले जिल्लाको गौरवको आयोजना भएकाले यसलाई निर्माण गर्नु मात्र  नभएर प्रभावकारी तरिकाले सञ्चालन गर्नु प्रमुख विषय भएको बताए । नगर प्रमुख भण्डारीले  बसपार्क निर्माण गर्दा पुगेको क्षतिलाई पूर्ति गर्नका लागि सबै एक हुनुपर्नेमा जोड दिए।

सल्यान रुकुम यातायात प्रा.लि.का अध्यक्ष अरविन्दकुमार राईले बसपार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि यातायात प्रालिको समेत महत्त्वपूर्ण जिम्मेवारी हुने भएकाले त्यसलाई पूरा गर्नका लागि आफूहरू निरन्तर लागिपर्ने बताए । उनले बसपार्कको अस्तित्व कायम गरी व्यवसायीलाई आफ्नो पेसाको सुरक्षा गर्न र यात्रुलाई यात्रुमैत्री वातावरण निर्माण गर्न सबै प्रालिहरूसँग सहकार्य गर्न आफूहरू  तयार रहेको बताए ।

See More On

सुझावित समाचार