उत्तर कोरियाले गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

 संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाली सेनाले आफ्नो वार्षिक सैन्य अभ्यास गरिरहेको वेला उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापानी र दक्षिण कोरियाली रक्षा बलले उक्त जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङसँग वार्ताका लागि नयाँ प्रस्ताव राखिरहेका वेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको रोयटर्सले रिपोर्ट गरेको छ ।

जापानको अनुमानअनुसार क्षेप्यास्त्र अधिकतम ८० किलोमिटर (५० माइल)को उचाइमा पुगेका थिए र टोकियोको विशेष आर्थिक क्षेत्रबाहिर कोरियाली प्रायद्वीपको पूर्वी तटनजिकै अवतरण गर्नुअघि लगभग ३४० किलोमिटर उडेका थिए । क्षेप्यास्त्रबाट नजिकैको विमान वा जहाजमा कुनै क्षतिको रिपोर्ट थाहा नभएको प्राप्त विवरणमा जनाइएको छ । योनहाप समाचार एजेन्सीका अनुसार प्योङयाङले पूर्वी समुद्रतर्फ लगभग १० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ, जसलाई जापानको समुद्र पनि भनिन्छ । जेसिएसले यो घटना वर्षको सुरुदेखि नै उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको तेस्रोपटक भएको बताएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सीले भन्यो, ‘अतिरिक्त प्रक्षेपणविरुद्ध दक्षिण कोरियाली, जापानी र अमेरिकी सेना उच्च निगरानी स्थितिमा छन् ।’ प्योङयाङले आफ्ना छिमेकीमाथि क्रोधको संकेत दिन प्रायः क्षेप्यास्त्र र अन्य प्रक्षेपण प्रहार गर्छ । शनिबारको प्रक्षेपण इरानमा अमेरिका–इजरायल आक्रमण र क्षेत्रभरि तेहरानको प्रतिशोधात्मक हमलाद्वारा मध्यपूर्वमा सल्किएको युद्धमा विश्व केन्द्रित भएको वेला भएको हो ।

यस हप्ताको सुरुमा उत्तरले मार्च १९ सम्म चल्ने १० दिने फ्रिडम सिल्ड अभ्यासको सुरुवातको विरोध गरेको थियो । अभ्यासमा दक्षिण कोरिया र अमेरिकाको हजारौँ सेना संलग्न छन् । उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले सियोल र वासिंटनलाई कोरियाली प्रायद्वीपको ‘स्थिरतालाई नष्ट’ गरेको र सैन्यशक्ति प्रदर्शन गरेर यसको सिमानामा तनाव चर्काएको आरोप लगाएकी छिन् । यस हप्ताको सुरुमा उत्तर कोरियाले नयाँ नौसेना विनाशकबाट क्रुज मिसाइल पनि प्रहार गरेको थियो ।

पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग भेटवार्ता गर्न सक्ने अनुमानलाई नयाँ रूप दिएको छ । ट्रम्पको पहिलो कार्यकालमा दुई नेताहरूले शिखर सम्मेलन गरेका थिए, यद्यपि तिनीहरूमा कुनै ठोस प्रगति भएन । उनीहरूले तीनपटक भेटे । उनीहरूको अन्तिम भेट २०१९ मा भएको थियो, जतिवेला दुई नेताहरूले कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्रको भ्रमण गरेका थिए ।

सुझावित समाचार