अखिल नेपाल फुटबल संघ (एन्फा) एकलौटी रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति घोषणा गरेपछि २२ क्लब विरोधमा उत्रिएका छन् । ‘ए’ डिभिजन लिगमा सहभागी हुने क्लबसँग कुनै छलफल नै नगरी मिति घोषणा गरेपछि उनीहरूले सोमबार विरोध प्रदर्शन गरेका हुन् । एन्फाले आगामी ३० चैतदेखि ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेको छ ।
सातदोबाटोस्थित एन्फाको मुख्यालयमा ‘ए’ का ८, ‘बी’ बाट ११ र सी डिभिजनका तीन क्लबका प्रतिनिधिहरू प्रदर्शनमा उत्रिएका हुन् । एन्फाले मूल प्रवेश द्वारअगाडि प्रहरी परिचालन गरेको थियो । जसका कारण क्लबका पदाधिकारी भित्र प्रवेश गर्न नपाएनन् । पदाधिकारीहरू गेटअगाडि नै धर्नामा बसेका थिए । त्यसपछि एन्फा महासचिव किरण राईसहित आठ क्लबका प्रतिनिधिहरू वार्तामा बसेका थिए ।
तर, वार्ता असफल भएको र आफूहरूले रिले अनशन सुरु गरेको हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् । वार्ता असफल भएपछि क्लबहरूले सातबँुदे माग राखी एन्फामा तालाबन्दी गरेको छ । दुई साताभित्र एन्फाको मुख्यालयमा ताला लागेको हो । यसअघि नेपाल खेलाडी संघले ‘ए’ डिभिजन लिगसँगै विविध माग राखी एन्फामा ताला लगाएको थियो । दुई पक्षबिचको वार्तापछि एन्फाले ३० चैतमा ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेको हो । एन्फाले ०७८ पछि लिग गर्ने भने पनि सहभागी क्लबसँग एकपटक पनि वार्ता नगरेको जनाउँदै विरोध गरेका हिमालयनका अध्यक्ष शेर्पाले नयाँ पत्रिकालाई बताए । ‘एन्फा नेतृत्वको दोहोरो चरित्र देखियो । एन्फा नेतृत्वले क्लब र खेलाडीसँग फरक सम्झौता गरेको पायौँ । जसका कारण फुटबल फेरि विवाद सतहमा आएको हो,’ उनले भने ।
शेर्पासँगै फ्रेन्ड्सका विश्वासविक्रम शाह, मच्छिन्द्रका अनिल श्रेष्ठ, मध्यपुर युथ एसोसिएसनका उपेन्द्रमान सिंह, सरस्वतीका उत्तम भण्डारीले एन्फामा दिनभरि अनशन बसेका थिए । यी सबै पदाधिकारी आ–आफ्ना क्लबका अध्यक्ष हुन् । उनीहरूलाई साथ दिन थ्री स्टारका पूर्वअध्यक्ष अरुणमान जोशी, ‘बी’ डिभिजन लिग क्लबका संयोजक कुमार राजभण्डारीलगायत एन्फापरिसरमा पुगेर रिले अनशन बसेका थिए । एन्फाका पदाधिकारीहरू केही पनि प्रतिक्रिया दिन चाहेनन् ।
वार्ता असफल
सोमबार दिउँसो एन्फाका महासचिव किरण र सिइओ इन्द्रमान तुलाधारसँग विरोधमा उत्रिएका पदाधिकारी वार्तामा बसे पनि निष्कर्षविहीन भयो । साँझ एन्फाका प्रतिनिधि र कर्मचारी कार्यालयबाट निस्किए । यसैबिच साँझ ६ बजे हुरीबताससहित वर्षा भयो । त्यसपछि क्लबका प्रतिनिधिले एन्फामा ताला लगाएका हुन् । उनीहरूले साँचो नेपाल प्रहरीलाई बुझाएका छन् । ‘मंगलबार बिहान ७ बजे फेरि रिले अनशन बस्ने गरी प्रहरीलाई एन्फाको साँचो जिम्मा लगाएर छाडेका छौँ,’ शेर्पाले भने, ‘हामी जसरी पनि आफ्नो माग पूरा होस् भन्ने चाहन्छौँ, माग पूरा नभएसम्म ताला पनि खुल्दैन र अनशन पनि जारी रहन्छ ।’
दोस्रोपटक ताला बन्दी
१३ चैतमा एन्फा चुनाव हुँदै छ । आसन्न एन्फा निर्वाचनअघि मुख्यालयमा दोस्रोपटक ताला बन्दी भएको हो । गत साता मात्रै राष्ट्रिय तथा पूर्वखेलाडीले ताला लगाएका थिए । उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिल्ला र प्रदेशको निर्वाचनपछि एन्फालाई निर्वाचन गर्न भनेका छन् । तर, एन्फा नेतृत्व जसरी पनि राज्यको निर्देशन लत्याउँदै चुनाव गर्ने तयारीमा छ । एन्फा र ‘ए’ डिभिजन क्लबबिच गत वर्षको १७ कात्तिकमा ‘होम एन्ड अवे’ लिग आयोजना गर्ने निर्णय भएको थियो । फेरि एन्फाले २६ फागुनमा सहिद स्मारक ए डिभिजन लिग ३० चैतबाट गर्ने निर्णय गरे पनि क्लबहरू एन्फामा ताला लगाउन पुगेका हुन् ।
एन्फाले खेलाडीसँग वार्ता गर्दै सहिद स्मारक लिग ३० चैतबाट गर्ने निर्णय गरेको थियो । एन्फाको एकतर्फी निर्णय क्लबहरूले पनि सामाजिक सञ्जालबाट थाहा पाएको बताएका छन् । ‘एन्फा नेतृत्व क्लबहरूलाई झुक्याइरहेको दाबी छ । ‘हामी ताला लगाउने अवस्थामा पुगेका छौँ,’ अघिल्लो साता मात्रै फ्रेन्ड्स क्लबका अध्यक्ष शाहले भने ।
माग पूरा नभएसम्म रिले अनशन जारी रहन्छ
कर्माछिरिङ शेर्पा, अध्यक्ष, हिमालयन शेर्पा
हामी सोमबार साँझ पानी परेपछि रिले अनशन बस्न सकेनौँ । त्यसपछि एन्फा कार्यालयमा ताला लगाएका हौँ । मंगलबार बिहान ७ बजे अनशन बस्ने गरी नेपाल प्रहरीलाई एन्फामा लगाइएको तालाको साँचो जिम्मा लगाएर छाडेका छौँ । एन्फाले माग पूरा गरोस् भन्ने चाहन्छौँ । माग पूरा नभएसम्म ताला पनि खुल्दैन र अनशन पनि जारी रहन्छ । हामी पैसा खर्च गर्ने, खेलाडी पाल्ने तर, एन्फा क्लबलाई नै धोका दिन्छ । पहिला नै भएको सम्झौताअनुसार काम हुनुपर्छ ।