नयाँ सरकारको पर्खाइमा सिंहदरबार

प्रधानमन्त्री कार्यालयले नयाँ सरकारलाई सुशासन मार्गचित्रबारे ‘ब्रिफिङ’ गर्ने

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशले ताजा जनादेश पाएसँगै प्रशासनिक केन्द्र सिंहदरबार नयाँ सरकारको पर्खाइमा छ । प्रतिनिधिसभाको २७५ मध्ये दुईतिहाइका लागि दुई सिट मात्रै कम अर्थात् १८२ सिट जितेको रास्वपाको एकल सरकार बन्दै छ । रास्वपाले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने निर्णय गरिसकेको छ । लामो राजनीतिक अस्थिरताका बिच भावी सरकारले लिन सक्ने नीति, सुधारका विषय र कार्यसम्पादनका पाटोमा कर्मचारीतन्त्रमा उत्सुकता देखिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आगामी सरकारलाई सुधारका कार्य अघि बढाउन सहज हुने गरी सुशासन मार्गचित्र (ब्लु प्रिन्ट) नै तयार गरेको छ । गत २३ र २४ भदौको जेन–जी विद्रोहको प्रमुख एजेन्डा भ्रष्टाचार नियन्त्रण र सुशासन रहेकामा त्यसलाई मूर्त रूप दिने गरी ठोस कार्ययोजना तयार गर्न ब्लु प्रिन्टमाथि प्रधानमन्त्री कार्यालयले केही महिनादेखि काम गरिरहेको थियो । यो ब्लु प्रिन्ट प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन लागिएको छ । विभिन्न क्षेत्रसँग बृहत्तर छलफल गरेर उच्चस्तरीय समितिले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । समितिका सदस्यसचिवसमेत रहेका प्रधानमन्त्री कार्यालयका सहसचिव डा. भीष्मप्रसाद भुसालका अनुसार मंगलबार प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी छ । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले नयाँ सरकार आउनेबित्तिकै नेतृत्वलाई मार्गचित्रसहित त्यसको ‘ब्रिफिङ’ गर्ने नयाँ पत्रिकालाई बताए । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन मार्गचित्र तयार गर्न १४ पुसमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय मामिला क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेकी थिइन् ।

प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयका प्रतिनिधि, जेन–जी प्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी तथा नागरिक समाज, विज्ञलगायत समावेश गरेर समिति गठन गरेको थियो । जेन–जी आन्दोलनको मर्म र उनीहरूसँग गरेको सम्झौताका अतिरिक्त सार्वजनिक प्रशासन एवं सेवाप्रवाहमा जवाफदेहिता, पारदर्शिता, प्रभावकारिता बढाउनेबारे सुझाव लिन र सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको थियो । 

प्रवक्ता अर्यालका अनुसार आगामी सरकारमा आउने मन्त्रिपरिषद् सदस्यलाई कानुनी जिम्मेवारीलगायतका सम्बन्धमा कार्यसम्पादन र कार्यविभाजन नियमावलीलगायतले निर्दिष्ट गरेबमोजिम जानकारी कार्यालयले दिनेछ । ‘कार्यालयले आफ्नो काम र तयारी गरिरहेको छ । मन्त्रालयहरूले पनि तयारी गरिरहेकै होलान्,’ उनले भने, ‘सरकारको भावनाअनुरूप सहयोग गर्ने गरी कार्यालयले काम गर्छ ।’ 

सरकारको बजेट, राजस्व र खर्च प्रणालीसँग जोडिएको महŒवपूर्ण निकाय अर्थ मन्त्रालयमा पनि आगामी सरकारबारे चासो देखिन्छ । मन्त्रालयमा अहिले आगामी आर्थिक वर्षको बजेटको तयारी प्रक्रिया चलिरहेको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मन्त्रालयले आफ्ना समस्या पहिचान गरेको बताए । ‘आगामी सरकारलाई दिने गरी समस्याबारे गृहकार्य गर्दै छौँ । डिजिटलाइज्ड गर्ने, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहका विषयमा सुधारका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ । यथार्थ बजेटिङ, राजस्व लक्ष्य पूरा गर्ने, खर्चलाई प्रभावकारी बनाएर बजेटलाई नतिजामुखी बनाउनेलगायत विषय मन्त्रालयसँग जोडिएका छन्,’ उनले भने, ‘तत्काल सुधार गर्न सकिने विषय पनि मन्त्रालयले कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेकै छ । मन्त्रालयले आफ्नोतर्फबाट काम र तयारी गरिरहेको छ । आगामी राजनीतिक नेतृत्वको मार्गनिर्देशअनुसार काम गर्न तयार छौँ ।’ 

गृह मन्त्रालयमा पनि आगामी सरकारबारे चासो छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह प्रशासनको आफ्नै नियमित काम छन् । आफ्नो कार्यक्षेत्रमा कतिपय सुधारका विषयलाई मन्त्रालयले विगतदेखि अगाडि बढाए पनि स्रोत–साधनलगायतका कारण सोचेअनुरूप अघि बढ्न नसकेको उनले बताए । निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्ने काममा मन्त्रालय केन्द्रित हुँदाकै बिचमा पनि सुशासन र सेवाप्रवाहका विषय पहिचान गरेर मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

यिनै विषयलाई तीव्रता दिने, शान्ति सुव्यवस्थालाई सुदृढ बनाउने र सरकारको प्रभावकारिता बढाउने विषयमा काम गर्न मन्त्रालय तयार रहेको प्रवक्ता काफ्लेले बताए । ‘कर्मचारीतन्त्रलाई राजनीतिले लिएको नीति कार्यान्वयन गर्ने दायित्व हुन्छ,’ उनले भने, ‘नयाँ राजनीतिक नेतृत्वले लिने सोचअनुरूप थप प्रभावकारी ढंगले काम गर्न मन्त्रालय उत्साहित छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालय छन् । मन्त्रालयमा दोहोरो जिम्मेवारीसहित प्रधानमन्त्री सुशीला कार्कीसमेत ११ मन्त्री छन् ।

कसरी भइरहेको छ मन्त्रालयबिच समन्वय
हेमराज अर्याल, प्रवक्ता, प्रधानमन्त्री कार्यालय

नयाँ सरकार आउनेबित्तिकै नेतृत्वलाई त्यसको मार्गचित्रसहित ‘ब्रिफिङ’ गर्छौँ ।  कार्यालयले आफ्नो काम र तयारी गरिरहेको छ । मन्त्रालयहरूले पनि तयारी गरिरहेकै होलान् । सरकारको भावनाअनुरूप सहयोग गर्ने गरी कार्यालयले काम गर्छ ।

आनन्द काफ्ले, प्रवक्ता, गृह मन्त्रालय
कर्मचारीतन्त्रलाई राजनीतिले लिएको नीति कार्यान्वयन गर्ने दायित्व हुन्छ । ताजा जनादेशअनुसारको नयाँ राजनीतिक नेतृत्वले लिने सोच र योजनाअनुरूप सरकारको प्रभावकारिता बढाउने विषयमा काम गर्न मन्त्रालय तयार छ ।

टंकप्रसाद पाण्डेय, प्रवक्ता, अर्थ मन्त्रालय
भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहका विषयमा सुधारका लागि मन्त्रालयले गृहकार्य गरिरहेको छ । तत्काल सुधार गर्न सकिने विषय कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेका छौँ । नयाँ नेतृत्वको मार्गनिर्देशअनुसार काम गर्न तयार छौँ ।

सुझावित समाचार