बागलुङका तीन महिला सांसद बन्ने

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको समानुपातिकतर्फ बागलुङबाट तीन महिलाला सामानुपातिक सांसद बन्ने पक्का भएका छन्  ।  समग्र गण्डकी प्रदेशले ६ जना सांसद पाउँदा बागलुङ जिल्लाबाट मात्रै तीनजना सांसद बन्ने पक्का भएका हुन् । 

समानुपातिकतर्फ नेपाली कांग्रेसको तर्फबाट रेणुका काउचा मगर, नेकपाबाट बलावती शर्मा रास्वपाबाट गंगा छन्त्याल रहेका छन् । समानुपातिकतर्फबाट बागलुङमा नेकपाबाट बलावती शर्मा सिफारिस भएकी छिन् । काउचा र छन्त्याल आदिवासी जनजातिबाट तर्फ सिफारिस भएका हुन् भने शर्मा खसआर्य महिलाबाट सिफारिस भएका हुन् । बागलुङका दुई निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिकतर्फ एकजना महिला सांसद प्राप्त गरेको छ ।

यसअघि सांसद बन्ने चर्चामा रहेका गायक प्रकाश सपुत भने समानुपातिक सांसद बन्न सकेनन् । रास्वपाबाट बागलुङ १ मा सुशील खड्का र बागलुङ २ मा साेम शर्मा विजयी भएका छन् । रास्वपाबाट बागलुङकी गंगासहित गण्डकीमा गोरखाबाट एलिजा गुरुङ सिफारिस भएकी छिन् ।

नेकपाकी शर्मा गण्डकी प्रदेशबाट एक मात्रै सांसद भएकी छिन् । नेपाली कांग्रेसबाट गण्डकीमा काउचासहित तीनजना सांसद भएका छन् । कांग्रेसका प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङले जितेका छन् ।

नेकपा एमालेले गण्डकीमा समानुपातिकतर्फ दुईजना महिला सांसद सिफारिस गरेको छ । पार्टी सचिव स्याङ्जाकी पद्माकुमारी अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल खसआर्य महिला कोटाबाट सांसद बनेका छन् ।

मतका आधारमा थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा थिए । सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए ।

एमालेबाट १० जना, नेपाली कांग्रेसबाट नाैजना, रास्वपाका आठजना, राप्रपा र श्रम संस्कृतिबाट ६–६ जना बन्दसूचीमा थिए । तर, निर्वाचित हुने वेलामा भने गण्डकीबाट ६ जना मात्रै परेका छन् । रास्वपा र एमालेबाट दुई–दुईजना र अन्य तीन दलबाट एक–एकजना मात्रै सांसद बनेका हुन् । 

अन्य प्रदेशका एकै जिल्लामा धेरै सांसद बन्दा गण्डकीका जिल्लाहरूबाट दलहरूले उम्मेदवार छनोट गर्दा पनि पछि पारेका छन् । प्रदेशका प्रत्यक्षतर्फ १८ सिटमा भने रास्वपाले १५ ठाउँमा जितेको छ । कांग्रेसले दुई सिट जित्दा एक भने स्वतन्त्रले जिते ।

समानुपातिकबाट गण्डकीमा रास्वपाले पाँच लाख २५ हजार ६३५ मत पाएको छ । कांग्रेसले दुई लाख सात हजार ३८७, एमालेले एक लाख ५२ हजार १८७ र नेकपाले ५७ हजार ८७६ मत पायो । राप्रपाले २३ हजार ५५७ मत पाउँदा श्रम संस्कृतिले १८ हजार ९९५ मत प्राप्त गरेको छ ।

मतका आधारमा हिसाब गर्दा रास्वपाले गण्डकीमा करिब ६ जना सांसद बनाउनुपर्ने हो । कांग्रेसले कम्तीमा दुई स्थान दिनुपर्नेमा एकजना मात्रै समानुपातिबाट तानेको छ । एमालेले करिब दुई सिट गण्डकीलाई दिनुपर्नेमा दुई सिट नै दिएको छ ।

को हुन् बागलुङबाट तीन महिला

रेणुका काउचा, कांग्रेस 
नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी काउचा बागलुङको गलकोट नगरपालिका– ११, रिघाकी हुन् । ०६५ मा काठमाडाैंको सरस्वती बहुमुखी क्याम्पसमा नेविसंघबाट स्ववियु कोषाध्यक्षबाट आफ्नो राजनीतिक सुरुवात गरेकी काउचा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष उनी पार्टीको मूल राजनीतिमा आएर तीनपटक महाधिवेशन प्रतिनिधि भएकी छन् । उनी नेपाली कांग्रेसको भगिनी संस्था महिला संघको केन्द्रीय सदस्यसमेत भएकी हुन् ।  

काउचा ०७० सालको संविधान सभाको निर्वाचनमा  पहिलोपटक समानुपातिक सूचीमा परेकी थिइन् भने ०७४ पहिलो स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी हुन् ।  उनी ०७९ सालमा पनि कांग्रेसबाट समानुपातिक सूचीमा थिइन् भने यसपटक समानुपातिकबाट सांसद बनेकी हुन् ।

बलावती शर्मा, नेकपा

२०४२ सालबाट विद्यार्थी राजनीति हुँदै तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बागलुङको इन्चार्जको भूमिका हुँदै हालको नेकपाको केन्द्रीय सदस्य भएकी शर्मा बागलुङ नगरपालिका– १२, अमलाचौरकी हुन् । उनी ०६३ सालको अन्तरिम व्यवस्थापिकामा व्यवस्थापिका सदस्य भएर काम गरेकी थिइन् । ०६८ सालदेखि केन्द्रीय नेतृत्वमा रहेकी शर्मा यसपटक नेकपाबाट समानुपातिकमा खसआर्यबाट सांसद बन्न लागेकी हुन् ।

काखमा सानो छोरी लिएर ०५१ सालमा जनयुद्धमा होमिएकी शर्मा त्यसवेला रोल्पाको सहइन्चार्ज भएरसमेत काम गरेकी थिइन् । नेकपाका नेता देवेन्द्र पौडेलकी श्रीमती भए तापनि कम्युनिस्ट आन्दोलनमा शर्माको ठुलाे योगदान रहेको नेकपाका नेता तथा कार्यकर्ता बताउँछन् । 

गंगा छन्त्याल, रास्वपा
बागलुङको तमानखोलाकी छन्त्याल रास्वपाको आदिवासी जनतजातिको कोटामा समानुपातिकबाट सांसद बन्ने भएकी हुन् । काठमाडाैंमा व्यवसाय गर्दै आएकी छन्त्याल डेढ–दुई वर्ष अगाडिबाट रास्वपामा सक्रिय रहेको बुझिन्छ। 

सुझावित समाचार