सुर्खेतमा छोराछोरीसहित आमा बेपत्ता भएकी छिन् । गुर्भाकोट नगरपालिका– १२, पिप्ले बस्ने ३८ वर्षीया माया कठायत छोराछोरीसहित बेपत्ता भएकी हुन् । मायासहित उनका ११ वर्षीया छोरी आशा कठायत र पाँच वर्षीय छोरा दीपक कठायत आइतबार बिहान ७ बजेदेखि घरबाट हराएका छन् ।
तीनैजना घरबाट सम्पर्कविहीन भएको भन्दै मायाका श्रीमान् भूपेन्द्र कठायतले आइतबार नै प्रहरी चौकी गुमी सुर्खेतमा खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमान्डमा चारजनाको प्रहरी टोली, वडाध्यक्षलगायत स्थानीयसहितको संयुक्त टोलीले खोजतलास गर्दा माया घरदेखि तीन किलोमिटर टाढाको दूरीमा रहेको भेरी नदीको किनारमा उनले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
प्रहरी र स्थानीयले भेरी नदीमा बेपत्ता भएको आशंकामा नदीको आसपासको क्षेत्रमा खोजी जारी रहेको प्रहरीले जनाएको छ ।