उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

आइतबार बिहान करिब १०ः२० बजे बानडाँडाबाट गिदेरीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको रोटाभेटर जडान गरिएको ट्याक्टर गिदेरी खोलानजिक उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा परी ट्याक्टरचालक बेलका नगरपालिका–२ निवासी सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन थापाले जानकारी दिए। मृतक सोकिन्दर स्थानीय हरिया चन्द्रवंशीका छोरा रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।

सुझावित समाचार