साई ग्लोबल सेकेन्डरी स्कुल एन्ड कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) चिह्न (लोगो) प्राप्त गरेको छ । शनिवार विद्यालयपरिसरमा आयोजित समारोहमा ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सुदीप शर्माले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिह्न विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
ग्लोबल क्वालिटी काउन्सिल नेपालले गुणस्तर मापदण्डसम्बन्धी विश्वव्यापी छाता संगठन अन्तर्राष्ट्रिय गुणस्तर काउन्सिलसँग आबद्ध रही सम्बन्धन प्राप्त गरेको छ । उक्त काउन्सिलबाट भैरहवा क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिह्न प्राप्त गर्ने संस्थागत विद्यालयहरूमा साई ग्लोबल स्कुल एन्ड कलेज दोस्राे हो । साई ग्लोबल एकेडेमीद्वारा सञ्चालित साई ग्लोबल स्कुल तथा कलेजमा दुई हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरका लागि आइएसओ काउन्सिलले निर्धारण गरेकाे मापदण्डमा ३० प्रतिशत पुर्याएपछि ग्लोबलमा मापदण्ड पूरा गरेर क्वालिटी काउन्सिल नेपालले आइएसओको चिह्न प्रदान गर्ने गर्छ । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको प्रमाणपत्र प्राप्त गर्न भने निर्धारित मापदण्डहरू शतप्रतिशत नै पूरा गरेको हुनुपर्छ ।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सुदीप शर्माले आइएसओ चिह्न पाएपछि प्रमाणपत्र प्राप्त गर्न तीन वर्षभित्रै सबै मापदण्ड पूरा गरिसकेको हुनुपर्ने बताए । आइएसओ चिह्न तथा प्रमाणपत्र प्राप्त गरेको शैक्षिक संस्थाले त्यही नाममा कुनै प्रकारको अतिरिक्त शुल्क विद्यार्थीबाट लिन नपाइनेपनि शर्माले बताए ।
आइएसओ प्रमाणपत्रका लागि सम्बन्धित शैक्षिक संस्थाको आन्तरिक गुणस्तर व्यवस्थापन, बाह्य गुणस्तर व्यवस्थापन, शैक्षिक गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रिय संस्कारसहितको गुणस्तर व्यवस्थापन, विद्यार्थी गुणस्तर व्यवस्थापन र शिक्षक गुणस्तर व्यवस्थापनसहितको शिक्षा उपलब्ध हुनुपर्ने शर्माले बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले भैरहवा क्षेत्रमा रहेका विद्यालयको शिक्षा अवस्था अन्तर्राष्ट्र्रिय स्तरको छ भन्ने कुरा प्रस्ट भएको बताइन् । उनले भैरहवालाई शैक्षिक हबका रूपमा अगाडि बढाउन नगरपालिकाबाट पूर्ण सहयोग रहने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशमान अमात्य, विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवाली, विद्यालयका प्रबन्ध निर्देशक मोतीप्रसाद पौडेलले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विद्यालय परिवार एकताबद्ध भएर अगाडि बढेका कारण यो सफलता पाएको बताए ।