चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल र त्यसमा आउने एडसेन्स विज्ञापनसहित अडियो–भिडियो सेवाबाट साढे दुई अर्ब रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकअनुसार यस्तो प्रविधिमार्फत दुई अर्ब ४९ करोड ३७ लाख रुपैयाँबराबरको विदेशी मुद्रा भित्रिएको हो । जुन गत आवको सोही अवधिको तुलनामा २५.७६ प्रतिशतले बढी हो । गत आवको पहिलो सात महिनामा यसबाट एक अर्ब ९८ करोड २८ लाख रुपैयाँ भित्रिएको थियो । गत आवभर भने यस्तो सेवाबाट तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँ भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकले गत आवदेखि युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको एडसेन्स विज्ञापनसहित अडियो–भिडियो सेवाबाट नेपाल भित्रिने र बाहिरिने रकमको तथ्यांक छुट्याएर राख्न थालेको छ । विगतमा यसरी पैसा नेपाल भित्रिए पनि छुट्टै तथ्यांक थिएन । गत आवदेखि राष्ट्र बैंकले यस्तो तथ्यांक छुट्याएर राख्न सुरु गरेको हो ।
समीक्षा अवधिमा यही शीर्षकमा नेपालबाट बाहिरिने रकम २४.३३ प्रतिशतले घटेको छ । गत आवको पहिलो सात महिनामा यसबाट ६७ करोड ६९ लाख रुपैयाँ बाहिरिएको थियो । चालू आवको सात महिनामा भने ५१ करोड २२ लाख रुपैयाँ बाहिरिएको छ । समीक्षा अवधिमा यस्तो सेवा व्यापारमा नेपाललाई एक अर्ब ९८ करोड १५ लाख रुपैयाँ बचत भएको छ । गत आवभर भने यसमार्फत ७८ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । गत आवमा यसमा नेपाललाई दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ बचत भएको थियो । अडियो–भिडयो सेवा शीर्षकमा यो तथ्यांक समावेश गरिएको हो । त्यसमा अधिकांश युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाबाट आउने रकम रहेको छ ।
कुन महिना कति भित्रियो ?
यसअन्तर्गत चालू आवको साउनमा २८ करोड १७ लाख रुपैयाँ भित्रिएको छ । त्यसपछि भदौमा २७ करोड आठ लाख रुपैयाँ, असोजमा २९ करोड १७ लाख रुपैयाँ, कात्तिकमा ३५ करोड ५५ लाख रुपैयाँ र मंसिरमा ३८ करोड २२ लाख रुपैयाँ भित्रिएको छ ।
यसैगरी, पुसमा ४५ करोड ९१ लाख रुपैयाँ र माघमा ४५ करोड २८ लाख रुपैयाँ भित्रिएको छ । तथ्यांकअनुसार गत आवको साउनमा २३ करोड आठ लाख रुपैयाँ, भदौमा २६ करोड ८९ लाख रुपैयाँ, असोजमा २७ करोड १८ लाख रुपैयाँ, कात्तिकमा २६ करोड १५ लाख रुपैयाँ र मंसिरमा ३० करोड ८० लाख रुपैयाँ भित्रिएको थियो । गत आवको पुस र माघमा भने क्रमश: २४ करोड ९८ लाख रुपैयाँ र माघमा २९ करोड १९ लाख रुपैयाँ भित्रिएको थियो । तोकिएका विभिन्न मापदण्ड पुगेपछि युट्युब च्यानल, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालका खाता ‘मोनिटाइज’ हुन्छ । त्यसपछि सम्बन्धित खातामा राखिने अडियो–भिडियोमा देखिने विज्ञापन र त्यसको भ्युजका आधारमा निश्चित रकम आम्दानी हुन्छ । यसैगरी फेसबुक, टिकटकमा एक प्रयोगकर्ताले अर्काे प्रयोगकर्तालाई दिइने गिफ्ट तथा स्टारका आधारमा पैसा पनि आउँछ । युट्युबजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले विज्ञापन परिचालन गरिरहेका हुन्छन् । त्यो विज्ञापन परिचालन गरिदिएबापत खातावालालाई उनीहरूले निश्चित रकम दिन्छन् । त्यसरी कमाइने पैसा बंैकिङ च्यानलमार्फत भित्रिन्छ । हरेक महिना यसबापतको रकम खातावालाको बैंक खातामा आउँछ ।
पछिल्लो समय नेपालमा युट्युबमा विभिन्न प्रकृतिका भिडियो कन्टेन्ट राख्ने प्रवृत्ति बढ्दै गएको छ । फिल्म, म्युजिक भिडियो, भिडियो अन्तर्वार्ता, समाचारलगायतका कन्टेन्ट पनि युट्युबमा राखिन्छ । त्यसमा एडसेन्समार्फत भिडियोमा देखिएको विज्ञापनमार्फत आम्दानी गर्न सकिन्छ । यसैगरी टिकटक, फेसबुकमा ‘लाइभ’ बस्ने प्रयोगकर्ता पनि बढ्दै छन् । त्यसरी बसिने लाइभमा अरू प्रयोगकर्ताले गिफ्ट तथा स्टार दिन सक्छन्, त्यसबाट लाइभ बस्ने प्रयोगकर्ताले पैसा कमाउन सक्छ । यस्तो अभ्यास नेपालमा पनि बढ्दै गएको छ । कैयौँ प्रयोगकर्ताले यसमार्फत आम्दानी गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले सामाजिक सञ्जाल र एडसेन्स विज्ञापनबाट हुने आम्दानी बढ्दो क्रममा रहेको बताए । ‘पछिल्लो समय विज्ञापनको स्वरूप परिवर्तन भएको छ । कन्टेन क्रिएटरलगायत सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । त्यसक्रममा यसबाट हुने आम्दानी पनि बढ्दो क्रममा छ । यसलाई हामीले स्वीकार गर्दै स्वाभाविक रूपमा लिएका छौँ । सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा नजोडिएको अवस्थामा यसलाई हामी स्वीकार नै गर्छाैँ । कतिपय अवस्थामा यसमा नियमन पनि आवश्यक हुन सक्छ,’ उनले भने, ‘विदेशी मुद्रा आम्दानीमा यो पनि एउटा महत्वपूर्ण स्रोत भयो भने यसलाई थप व्यवस्थित बनाउनुपर्ने हुन सक्छ । आगामी दिनमा यसको तथ्यांकलाई अझ परिष्कृत गर्ने गरी पनि काम गर्नेछौँ ।’ विज्ञहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । तर, यसलाई प्रवद्र्धन गर्न नहुने उनीहरूको जोड छ । यसलाई यथास्थितिमा खुला छाडेर मानिसलाई उत्पादन प्रणालीमै जोड्न प्रोत्साहन गर्नुपर्ने विज्ञहरूको जोड छ ।