सिराहामा मृत भेटिएकी महिलाको खुल्यो पहिचान

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

सिराहाको औरही गाउँपालिका– ५, औरही गाउँको दक्षिणतर्फ नेपाल–भारत सीमानजिकै रहेको पोखरीमा बुधबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार औरही– ५ की चन्द्रकला यादवले पोखरीमा भेटिएकी महिलाको शव आफ्नी बुहारीको रहेको सनाखत गरेकी हुन्। मृतक महिला वैदेशिक रोजगारीमा रहेका औरही– ५ का सरोजकुमार यादवकी श्रीमती करिब २२ वर्षीया खुश्वु यादव रहेको खुलेको प्रहरीले जनाएको छ। 

शव सिराहा प्रादेशिक अस्पतालबाट पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। 

उनका अनुसार परिवारका सदस्यहरूसँग गरिएको प्रारम्भिक सोधपुछ र अनुसन्धानमा मृतक महिला मंगलबार दिउँसो घाँस काट्न जान्छु भन्दै बोरा र हँसिया लिएर घरबाट निस्किएको बुझिएको छ। ‘प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ, पोस्टमार्टम भएपछि थप केही खुल्छ,’ उनले भने। 

रातो समिज सुरुवाल, गलामा मंगलसूत्रसमेत लगाएकी महिलाको नाकबाट हल्का रगतसमेत देखिएकाले अन्यत्र हत्या गरी पोखरीमा ल्याएर फालिएको हुन सक्ने स्थानीयले आशंका गरेको भए पनि प्रहरीले भने अनुसन्धान नगरी केही भन्न नसकिने जनाएको छ। औरही गाउँपालिकाका पूर्वअध्यक्ष सिद्धार्थ यादवको कुखुरा फर्मको पोखरीमा घोप्टो परेर तैरिरहेको अवस्थामा भेटिएकी महिलाको शव तत्काल प्रहरी चौकी औरही र जिल्ला प्रहरीबाट आएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल लगेको थियो।

पूर्व–पश्चिम हुलाकी सडकबाट करिब पाँच सय मिटर दक्षिण नेपाल–भारत सीमानजिक रहेको घटनास्थल पोखरीको उत्तरपट्टि डिलमा बोरा, हँसिया, चप्पलसमेत भेटिएको थियो। श्रीमान् विदेशमा रहेकाले प्रायः माइतीमै बस्दै आएकी मृतक महिला करिब १५ दिनअघि मात्र ससुरा दुःखी यादव लिन गएपछि घर फर्किएको माइती पक्षले जनाएको छ।

सुझावित समाचार