विश्व मिर्गाैला दिवसमा बुटवलमा जनचेतनामूलक र्‍याली

खानपानमा ख्याल गर्न डाक्टरको सुझाव

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

विश्व मिर्गाैला दिवसका अवसरमा बिहीबार  बुटवलमा जनचेतनामूलक र्याली निकालिएको छ । बुटवलस्थित गौतम वुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको र्यालीमा अस्पतालका पदाधिकारी तथा ‘स्वास्थ्यकर्मीका अतिरिक्त विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अस्पतालबाट राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिकचोकसम्म जनचेतना र्याली गरिएको थियो । र्यालीमा सहभागीहरूले जनचेतनामूलक प्लेकार्डहरू हातमा लिएका थिए । प्ले काडहरूमा स्वस्थ रहन अपनाउनुपर्ने सन्देश लेखिएको थियो ।

 र्यालीको समापनका अवसरमा अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले मुटु र मिर्गाैला स्वस्थ राख्न खानपानदेखि शारीरिक व्यायाममा विशेष ध्यान दिनुुपर्ने बताए । उनले दैनिक शारीरिक व्यायाम गर्ने, चिल्लो, गुलियो, नुनिलो खाना कम गर्ने, तनाव कम गर्ने तथा पानी प्रशस्त पिउन सुझाव दिए । डाक्टर गौतमले धूम्रपान, मद्यपान, गुट्का पान, सुर्ती पान र हुक्का पान गरी पाँच पानबाट टाढा रहन पनि सुझाव दिए ।

अस्पतालका अध्यक्ष एजाज आलमले दैनिक मिर्गाैलाका बिरामीहरू बढ्दो रहेको भन्दै स्वस्थ रहन सबै सचेत भएर अगाडि बढ्नुपर्ने धारणा राखे । प्रदेशका पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीले मुटु तथा मिर्गाैलाका बिरामीहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वस्थ रहन सबै सचेत हुनुपर्नेमा जोड दिए । अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डाक्टर रजत कायस्थले मिर्गाैला बचाउनेतर्फ ध्यान दिनुपर्ने बताए । दैनिक एक घण्टा शारीरिक व्यायाम गर्न, डाक्टरको सल्लाहविना औषधिको प्रयोग नगर्न उनले सुझाव दिएका छन् । 

सुझावित समाचार