पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका– ५ बाट प्रहरीले माटोमा गाडिएको एक थान पेस्तोल बरामद गरेको छ। प्रतापपुर गाउँपालिका– ५ छोटकी बैदौली बस्ने वर्ष २८ का सराजोद्दिन अन्सारीको खेतमा रहेको बाँसको जरा खन्ने क्रममा पुरानो खिया लागेको नलकटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए ।
खिया लागेको जीर्ण पेस्तोल फेला परेपछि इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहीयाका प्रहरी जनशक्ति पेस्तोल गाडेको स्थानमा पुगेको हो।सीमावर्ती क्षेत्रमा जमिनमुनि गाडिएको पेस्तोल भेटिएपछि त्यसको मुचुल्का तयार पारी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जमिनमा गाडिएको पेस्तोल फेला परेपछि अन्य अवैध हतियारको अवस्थाबारे पनि सीमा क्षेत्रमा चिन्ता र चासो बढेको स्थानीयको भनाइ छ।