मध्यपूर्वमा अलपत्र परेका साढे तीन हजार यात्रु रेस्क्यु फ्लाइटमार्फत फर्किए नेपाल

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण
  • मध्यपूर्वबाट नेपालमा हुने सम्पूर्ण नियमित उडान रद्द भएपछि २० फागुनदेखि केही अन्तर्राष्ट्रिय विमान कम्पनीले युएईबाट रेस्क्यु फ्लाइट गर्दै आएका छन्

मध्यपूर्वमा १७ फागुनदेखि जारी तनावले उडान रद्द हुँदा अलपत्र परेका तीन हजार यात्रु रेस्क्यु फ्लाईटमार्फत नेपाल आएका छन् । नियमित उडान रद्द भएपछि २१ रेस्क्यु फ्लाइटमार्फत तीन हजार ६ सय ४९ जना यात्रु नेपाल आएका हुन् । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ उडानमार्फत २ हजार २८ जना यात्रु मध्यपूर्व गएका छन् ।

अमेरिका–इजरायलले इरानमा गरेको संयुक्त सैन्य कारबाही र इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डामा गरेको जवाफी हमलाका कारण ती क्षेत्रका उडान १७ फागुनदेखि रद्द हुँदै आएका छन् । नेपालबाट मध्यपूर्वमा र मध्यपूर्वबाट नेपालमा हुने सम्पूर्ण नियमित उडान रद्द भएपछि २० फागुनदेखि केही अन्तर्राष्ट्रिय विमान कम्पनीले युएईबाट रेस्क्यु फ्लाइट गर्दै आएका छन् । फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले रेस्क्यु फ्लाइट गरेका हुन् । ती एयरलाइन्सले मध्यपूर्वमा समस्यामा परेका, अलपत्र हुनपुगेका तथा ट्रान्जिटमा अड्किएका यात्रुलाई काठमाडौं ल्याएको बताएका छन् । 

एयर अरेबियाले २० फागुनयता काठमाडौं–सारजह–काठमाडौं र अबुधाबी–काठमाडौैं–अबुधाबीमा १४ वटा फ्लाइट गरिसकेको छ । त्यस्तै, फ्लाई दुबईले काठमाडौं–दुबई–काठमाडौंमा पाँचवटा फ्लाइट र हिमालय एयरलाइन्सले काठमाडौं–दुबई–काठमाडौंमा चारवटा फ्लाइट गरेको हो । नेपालबाट दुबई, सारजह र अबुधाबी सेड्युल (नियमित)अन्तर्गत नै उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले बताए । ‘उताबाट आउँदा यात्रुको उद्दार गरेर ल्याइएको भएपनि चाटर्ड उडान भनिएको छैन, यताबाट जाँदा तोकिएको स्वीकृत तालिकै उडानअनुसार गइरहेका छन्,’ उनले भने ।

खासगरी अलपत्र परेका यात्रुलाई लक्षित गरेर एयर अरेबिया र फ्लाई दुबईले रेस्क्यु फ्लाइट सञ्चालन गरेको एयरलाइन्स आबद्ध स्रोतले भन्यो । ‘सामान्य अवस्थामा दैनिक चार उडान हुँदै आएको थियो, अहिले मध्यपूर्वको तनावले नियमित फ्लाइट रोकिएको छ, दैनिक मुस्किलले एउटा रेस्क्यु उडान गरिरहेका छौँ,’ स्रोतले भन्यो, ‘एयरपोर्ट ट्रान्जिटमा अड्किएका, समस्यामा परेकालगायत यात्रुलाई उद्धारक रूपमा ल्याइरहेका छौँ ।’ पछिल्ला दिनहरूमा भने सारजहतर्फको उडान नियमित भइरहेको उनले बताए । नेपाल एयरलाइन्सले पनि दुबई उडान सुरु गरिसकेको छ । कुबेत र जजिराले पनि रेस्क्यु फ्लाइटमार्फत यात्रुलाई हवाई सेवा दिने तयारी गरिरहेका छन् । 

उडान रद्द भएपछि कतार, फ्लाई दुबई, जजिरा, एयर अरेबिया, कुवेत एयर, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्सलगायतले कुनै अतिरिक्त शुल्क नलिईकन टिकटको मिति सार्ने तथा टिकट फिर्ता दिने सुविधासमेत दिएको दाबी गर्दै आएका छन् । ‘सबैजसो एयरलाइन्सले मध्यपूर्व र मध्यपूर्व हुँदै पश्चिम जान टिकट काटेकाहरूलाई मिति परिवर्तन तथा टिकट फिर्ताको सुविधा दिएका छन्,’ एक एयरलाइन्स आबद्ध व्यक्तिले भने ।

बुधबार २६ उडान रद्द
मध्यपूर्वमा भएको तनावका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जजिरा एयरवेजको कुबेत–काठमाडौं–कुवेत, कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत, एयर अरेबियाको सारजह–काठमाडौं–सारजाह, फ्लाई दुबईको दुबई–काठमाडौं–दुबई, नेपाल एयरलाइन्सको काठमाडौं–कतार र काठमाडौं–साउदी, कतार एयरलाइन्सको दोहा–काठमाडौं–दोहा र हिमालय एयरलाइन्सको काठमाडौं–दोहा–काठमाडौंको उडान रद्द भएको हो । 

सुझावित समाचार