पूर्वमन्त्रीसहित ११ जनालाई कारबाही सिफारिस

कांग्रेसको सिराहा १ नम्बर क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदमनारायण चौधरीसहित ११ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई असहयोग गरेको आरोपमा कांग्रेसको सिराहा १ नम्बर क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदमनारायण चौधरीसहित ११ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

क्षेत्रीय कार्यसमितिको सोमबार सम्पन्न भेलाले ११ जनालाई नै आगामी पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टी केन्द्रको अनुशासन समितिलाई कारबाही सिफारिस गरेको हो ।

कारबाहीका लागि सिफारिस गरिएकामा महाधिवेशन प्रतिनिधिहरू सन्तोष चौधरी तथा गौरीनारायण चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो, क्षेत्रीय सहस्यहरू कन्हैयाप्रसाद गुप्ता, गोपालकृष्ण यादव, नेपाल थारू संघ जिल्ला अध्यक्ष अजय चौधरी, नेपाल लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, लहान– १० का बुथ सभापति अम्बराज मिश्र, लहान– २० का बुथ सभापति विनोद साह छन् ।

निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध अन्य पार्टी रास्वपा, जनमत र स्वतन्त्र उम्मेदवारको पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको र आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै क्षेत्रीय कार्यसमितिले पार्टीको विधान, २०१७ को संशोधनसहित धारा ३४ को ४ (क) बमोजिम कारबाहीको सिफारिस गरिएको जनाएको छ ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि ०६४ को संविधानसभा, ०५६ र ०७९ को निर्वाचनबाहेक ०४८, ०५१, ०७०, ०७४ को निर्वाचन जितेको कांग्रेसका प्रत्याशी रामसुन्दर चौधरीले यसपल्ट निकटतम प्रतिद्वन्द्वीका रूपमा नौ हजार ७८४ मत ल्याएका छन् । 

सुझावित समाचार