- आन्दोलनरत खेलाडी र पदाधिकारीबिच एन्फा मुख्यालयमा मंगलबार भएको सहमतिअनुसार सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलाडी संघबिच मंगलबार सहमति भएको छ । सहमतिपछि संघले सातदोबाटोस्थित एन्फा केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ । दुई पक्षबिचको छलफलपछि खेलाडी संघले एन्फा कार्यालयमा लगाइएको तालाबन्दी खोलेको जनाइएको छ । छलफलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी ३० चैतदेखि सुरु गर्ने सहमति भएको छ ।
०७९ पछि ‘ए’ डिभिजन लिग हुन लागेको हो । राष्ट्रियस्तरका खेलाडीले करिब ३४ महिनापछि घरेलु फुटबलकै शीर्ष डिभिजन लिग खेल्ने अवसर पाउन लागेका हुन् । वार्तामा एन्फा महासचिव किरण राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रवीन्द्र जोशी, एन्फा प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधि सहभागी थिए । ‘दुई पक्षबिचको सहमतिपछि एन्फा मुख्यालयमा लगाइएको ताला खुलेको हो । खेलाडीको माग पूरा गर्न एन्फा तयार छ,’ एन्फाका प्रवक्ता शाहले भने, ‘खेलाडी अक्षय कोषमा जम्मा गरिनुपर्ने रकम संघले नै जम्मा गर्ने प्रतिबद्धता भएको छ ।’
खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताएका छन् । ‘धेरै समयको संघर्षपछि एन्फाले लिग गर्छौँ भनेको छ, लिगको मिति पनि आएको छ,’ लामाले भने, ‘यसअघि गर्छौँ–गर्छौँ भने पनि मिति तोकिएको थिएन । लगातार संघर्ष गर्दै अन्तत: ताला लगाउने स्थितिमा पनि पुगेका थियौँ ।’
यसैगरी, एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार ‘ए’ डिभिजन लिगसँगै राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको पनि जानकारी दिएका छन् । राष्ट्रिय लिग ३० चैतसम्म चल्नेछ । त्यसपछि त्यसलाई रिभाइज गरेर केही अगाडि सकाउने योजना एन्फाको छ । ३० चैतमा ‘ए’ डिभिजन लिगको एउटा खेल गरेर आगामी २० वैशाखमा नियमित रूपमा लिगका खेल सुरु गर्ने सहमति भएको हो ।
सहमतिअनुसार खेलाडीको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी पुरस्कार रकम चैतदेखि किस्ताबन्दीमा भुक्तानी गर्दै लैजानेछ । यसअघि एन्फा र क्लबहरूको संयुक्त बैठकले ०८२ मा लिग नगर्ने सहमति गरेका थिए । उनीहरूले ‘ए’ डिभिजन लिग ३ पुस ०८३ गर्ने भनेका थिए । यसअघि उनीहरूबिच राष्ट्रिय लिग गर्ने सहमति भएको थियो । अहिले दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा राष्ट्रिय लिग चलिरहेको छ ।
गत आइतबारदेखि तालाबन्दी
संघले लामो समयदेखि फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितका विषयमा एन्फासँग वार्ता तथा आन्दोलन गर्दै आएको भए पनि माग बेवास्ता गरिएपछि गत आइतबार एन्फा मुख्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडीले ३४ महिनादेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, नौ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्नेलगायत माग पूरा गर्नुपर्ने जनाउँदै तालाबन्दी गरिएको थियो ।
एन्फा प्रवक्ता शाहले सोमबार विज्ञप्तिमार्फत मागहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी संघलाई केन्द्रीय कार्यालयको ताला खोल्न आग्रह गरी वार्तामा आउन आग्रह गरेका थिए । एन्फाको आह्वानपछि खेलाडी संघ वार्तामा बस्न तयार भएको हो । ताला खुलेपछि दुई पक्षबिच छलफल भयो । त्यसपछि खेलाडीको मुख्य माग ‘ए’ डिभिजन लिग ३० चैतबाट सञ्चालन गर्ने सहमति भएको हो । ‘ए’ डिभिजन लिग ३० चैतदेखि गर्ने सहमति भएको छ । यस्तै, आगामी मंसिरभित्र ‘बी’ र ‘सी’ डिभिजन पनि सक्ने सहमति भएको छ,’ एन्फा प्रवक्ता शाहले भने, ‘सहमतिअनुसार कोषमा जम्मा गर्नुपर्ने रकम सकेसम्म चाँडो जम्मा गरिनेछ ।’
फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने माग
नेपाल फुटबल क्लब संघले नेपाली फुटबलको व्यवस्थापन र सञ्चालनबारे ध्यानाकर्षण गराउँदै एन्फालाई सातबुँदे मागसहित पत्र बुझाएको छ । डिभिजन फुटबलका क्लबहरूले घरेलु फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन तत्काल केही महत्वपूर्ण निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा विभिन्न क्लबका १९ जना प्रतिनिधिले सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरी माग राखेका हुन् । उनीहरूले वर्तमान अवस्थाका कारण फुटबलको लोकप्रियता घट्दै गएको र प्रतियोगिता पनि व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको भन्दै चिन्ता गरेका थिए । संघबाट बुझाइएको पत्रमा नेपाली फुटबलको दीर्घकालीन विकासका लागि नेतृत्वले स्पष्ट योजना र जिम्मेवारीका साथ काम गर्नुपर्ने उल्लेख गरिएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनसँग सम्बन्धित पूर्वसहमति तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।