दलहरूले यसरी छान्दै छन् ११० समानुपातिक सांसद

मंगलबार राति २ बजेसम्मको परिणामअनुसार रास्वपा ५७, कांग्रेस २०, एमाले १६, नेकपा ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट पाउने

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण
  • ३३% महिला सुनिश्चित हुने गरी खसआर्य ३०.२८%, आदिवासी जनजाति २८.७२%, मधेशी १६.१५%, दलित १३.४४%, थारू ६.५२% र मुस्लिम ४.८९% छान्नुपर्ने । १०% भन्दा कम सिट पाउने दलको हकमा पनि कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व गराउनैपर्ने

समानुपातिक निर्वाचन प्रणालीको मतगणना अन्तिम चरणमा पुगेसँगै थ्रेसहोल्ड कटाएका दलहरूले पाउने संख्या र पठाउने पात्रबारे तयारी सुरु भएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरू ५ चैतभित्र टुंग्याउने लक्ष्यसहित काम गरिरहेको छ । केही क्षेत्रमा जारी समानुपातिकतर्फको मतगणना बुधबार बिहानसम्म सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० रहेकोमा ६० प्रतिशत अर्थात् एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको छ । त्यसमा औसत साढे तीन प्रतिशत अर्थात् तीन लाख ८४ हजार २२० बदर हुँदा सदर मत एक करोड पाँच लाख ९३ हजार ४९१ रहनेछ । तीन प्रतिशत अर्थात् तीन लाख १७ हजार ८०५ मत पाउने दलले ‘थ्रेसहोल्ड’ कटाउनेछन् । 

मतगणनाअनुसार ६ वटा दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ‘थ्रेसहोल्ड’ कटाएका छन् । समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी थ्रेसहोल्ड कटाउने दलले प्राप्त गर्ने सिट संख्या आयोगले बाँडफाँट गर्ने कानुनी व्यवस्था छ ।

मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले शृंखलाबद्ध भाग गरिन्छ । यसअनुसार प्रत्येक दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ (उदाहरण: १, ३, ५, ७, ९ आदि) । त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । 

भागफल प्राप्त भएपछि सिट संख्या ठुलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सिट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो दलले प्राप्त गर्ने सिटको बाँडफाँट गरिनेछ ।

सिट बाँडफाँटपछि दलले समावेशी समूहबाट नाम छनोट गर्नुपर्छ । निर्धारण गर्दा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । बन्दसूचीबाट नाम छनोट गर्दा थ्रेसहोल्ड कटाउने दलले आफूले पाएको सिट संख्याका आधारमा खसआर्य ३०.२८, आदिवासी जनजाति २८.७२, मधेशी १६.१५, दलित १३.४४, थारू ६.५२ र मुस्लिम ४.८९ प्रतिशत सिट छुट्याउनुपर्छ । 

६ वटै क्लस्टरबाट ४.३ प्रतिशत पिछडिएको क्षेत्रलाई समेट्नुपर्छ । समानुपातिकमा १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले कम्तीमा एकतिहाइ महिला निर्वाचित हुने गरी यथासम्भव अन्य समावेशी आधारसमेत मिलाई निर्वाचित गर्नुपर्छ ।

मंगलबार राति २ बजेसम्मको मतणनाअनुसार रास्वपाले ५१ लाख २२ हजार ५३२, कांग्रेसले १७ लाख ४२ हजार १७, एमालेले १४ लाख ४४ हजार ९१४, नेकपाले श्रम संस्कृतिले ३ लाख ७६ हजार ८३१ र राप्रपाले ३ लाख २८ हजार ९९६ मत पाएका छन् । यस आधारमा समानुपातिकतर्फ रास्वपाले कुल ११० सिटमा ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृतिले चार, राप्रपाले चार सिट पाउने निश्चित भएको छ । 

उक्त निर्देशिकाअनुसार ५८ सिट पाएको रास्वपाले आदिवासी जनजाति १६, खसआर्य १८, थारू चार, दलित आठ, मधेशी नौ, मुस्लिम तीन सांसद छान्नुपर्छ । यो बाँडफाँटभित्र दुई सिटले पिछडिएको क्षेत्रलाई पनि समेट्नुपर्छ । विभिन्न क्लस्टरमा सांसद छनोट गर्दा कम्तीमा ३३ प्रतिशत महिला छनोट गर्नुपर्छ । रास्वपाले ४८ जना महिला छनोट गर्दा क्लस्टर पनि मिलाउनुपर्छ । रास्वपाबाट १० जना मात्रै पुरुष छनोट हुनेछन् । 

१९ सिट प्राप्त गरेको कांग्रेसले आदिवासी जनजाति पाँच, खसआर्य ६, थारू एक, दलित तीन, मधेशी तीन, मुस्लिम एक सांसद छान्नुपर्छ । यो बाँडफाँटभित्र एक सिट पिछडिएको क्षेत्रलाई पनि समेट्नुपर्छ । १९ मध्ये कांग्रेसले १५ जना महिला पठाउनुपर्नेछ । चारजना पुरुषले मात्रै मौका पाउनेछन् । 

१६ सिट प्राप्त गरेको एमालेले आदिवासी जनजाति पाँच, खसआर्य पाँच, थारू एक, दलित दुई, मधेशी दुई, मुस्लिम एक सांसद छान्नुपर्छ । यो बाँडफाँटभित्र एक सिट पिछडिएको क्षेत्रलाई पनि समेट्नुपर्छ । १६ सिटमध्ये एमालेले पाँचजना महिला पठाउनुपर्छ । ११ पुरुषलाई पठाउनुपर्छ । 
नौ सिट प्राप्त गरेको नेकपाले आदिवासी जनजाति दुई, खसआर्य तीन, थारू एक, दलित एक, मधेशी एक, मुस्लिम एक सांसद छान्नुपर्छ । नौ सिटमध्ये नेकपाले चार महिला पठाउनुपर्छ । पाँच पुरुषलाई पठाउनुपर्छ ।

समानुपातिकमा चार–चार सिट पाएको श्रम संस्कृति र राप्रपाले आदिवासी जनजाति एक, खसआर्य एक, दलित एक, मधेशी एक सांसद छान्न सक्छन् । यसभित्र दुवै दलले दुई–दुईजना महिला पठाउनुपर्छ । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले सिट बाँडफाँट भइसकेपछि नाम पठाउन दलहरूलाई पत्राचार गरिने बताउँछन् । ‘मतगणना सम्पन्न भइसकेपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलका तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्छ,’ उनले भने, ‘निर्धारित संख्यामा समानुपातिक क्लस्टरअनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्छ । दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लस्टरबमोजिम मिले–नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य गर्नेछ ।’ 

महिला ३३ प्रतिशत
प्रत्यक्षतर्फ १६५ सिटमा रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति तीन, राप्रपा एक र स्वतन्त्र एक सिटमा निर्वाचित भएको छ । समानुपातिकतर्फ निश्चित सिट जोड्दा प्रतिनिधिसभामा रास्वपा १८३, कांग्रेस ३७, एमाले २५, नेकपा १७, श्रम संस्कृति सात, राप्रपा पाँच र स्वतन्त्र एकजना हुन आउँछ । 

३३ प्रतिशत महिला आवश्यक पर्छ । प्रत्यक्षमा १४ निर्वाचित भएकाले ७७ महिला समानुपातिकबाट जुटाउनुपर्नेछ । रास्वपाले १८३ सिटमा ३३ प्रतिशत अर्थात् कम्तीमा ६१ महिला सहभागी गराउनुपर्छ । प्रत्यक्षमा १३ जना निर्वाचित भएकाले रास्वपाले समानुपातिकबाट ४८ महिला छानिनेछन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० (४) अनुसार दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गर्दा आयोगले त्यस्तो दलका तर्फबाट संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्वाचित गर्नुपर्छ । रास्वपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नभएकाले ३३ प्रतिशत महिला प्रतिनिधिसभाबाटै पूर्ति गर्नुपर्छ । कांग्रेस, एमाले र नेकपाको भने राष्ट्रिय सभामा भएको प्रतिनिधित्वलाई समेटेर महिला चुन्नुपर्छ । 

कांग्रेसको राष्ट्रिय सभामा २५ सिट छ । प्रतिनिधिसभामा ३७ सिट ल्याउँदा संघीय संसदमा ६२ सिट हुन्छ । यसको ३३ प्रतिशत अर्थात् २१ महिला सांसद बनाउनुपर्छ । राष्ट्रिय सभामा कांग्रेसबाट पाँच महिलाको प्रतिनिधित्व छ । प्रतिनिधिसभामा एक जितेकाले अब बन्दसूचीबाट १५ जना महिला पठाउनुपर्छ । 

एमालेको राष्ट्रिय सभामा ११ सिट छ । प्रतिनिधिसभामा २५ सिट ल्याउँदा संघीय संसद्मा ३६ सिट हुन्छ । यसको ३३ प्रतिशत अर्थात् १२ महिला सांसद बनाउनुपर्छ । राष्ट्रिय सभामा एमालेबाट सात महिलाको प्रतिनिधित्व छ । अब प्रतिनिधिसभाबाट पाँचजना महिला पठाउनुपर्छ । 

नेकपाको राष्ट्रिय सभामा १८ सिट छ । प्रतिनिधिसभामा १७ सिट ल्याउँदा संघीय संसद्मा ३५ सिट हुन्छ । यसको ३३ प्रतिशत अर्थात् १२ महिला सांसद बनाउनुपर्छ । राष्ट्रिय सभामा नेकपाबाट आठ महिला छन् । अब प्रतिनिधिसभाबाट चारजना महिला पठाउनुपर्छ । 

प्रतिनिधिसभामा सात सिट ल्याउने श्रम संस्कृति र पाँच सिट ल्याउने राप्रपाले दुई–दुई महिला पठाउनुपर्छ ।

मंगलबार राति २ बजेसम्मको परिणामअनुसार रास्वपा ५७, कांग्रेस २०, एमाले १६, नेकपा ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट पाउने

सुझावित समाचार