कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ। मंगलबारदेखि शुक्लाफाँटासहित आसपासका वन क्षेत्रमा बाघ गणना सुरु गरिएको हो।
बाघको राष्ट्रिय गणना चार–चार वर्षमा हुने भए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक वर्ष हुने गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले मंगलबारदेखि बाघ गणना सुरु गरिएको बताए। सूचना अधिकारी वाग्लेका अनुसार शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्सबाट सुरु भएको छ। तराईदेखि चुरे वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेर बाघ गणना गरिनेछ।
उनका अनुसार बाघ पाइने क्षेत्रमा २ किलोमिटरको लम्बाइ र चौडाइ चौडाइ भएको वर्गाकार ग्रिड बनाएर एक ग्रिडमा एकजोडी क्यामेरा जडान गरेर १५ दिनसम्म बाघको फोटो खिचेर विश्लेषण गरिने छ। ११ क्याम्पमार्फत २ हजार ६० ग्रिडका लागि ५२० क्यामेरा जडान गरिनेछ। गणनाका लागि झन्डै सय जनशक्तिसहित हात्तीसमेतको प्रयोग गरिनेछ। यसअघि ४३ बाघ रहेको शुक्लाफाँटामा अहिले संख्या वृद्धि भएको प्रक्षेपण गरिएको छ।
सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले वन्यजन्तुको व्यवस्थापन सहजताका लागि गणना कार्य राम्रो भएको बताए। सन् २०१८ मा १६ बाघ रहेको शुक्लाफाँटामा २०२४ मा ४३ बाघ थिए।