काठमाडौं उपत्यकामा वायु प्रदूषणका दुष्प्रभाव

वायु प्रदूषणको सम्पर्कमा आउँदा मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परी डिप्रेसनको दरसमेत बढ्न सक्छ

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

देशका अधिकांश भागमा पछिल्ला केही दिनयता आंशिकदेखि सामान्य बदली रहेको मौसम आगामी केही दिनसम्म पनि यस्तै रहने पूर्वानुमान छ । स्थानीय वायुको प्रभावले सिर्जना भएको मौसमी अवस्थामा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय हावा र वायु प्रदूषणका कारण उपत्यका तुवाँलोले ढाकिएको छ । यो तुवाँलो हटाउन तीव्र हावा वा भारी वर्षा आवश्यक पर्छ । मौसमविद्का अनुसार हालको मौसमी अवस्था देशका विभिन्न भागमा देखिएका वन डढेलोको परिणाम हो ।

अनियोजित सहरीकरण, सवारीसाधनको उत्सर्जन, जीवाश्म इन्धन जलाउनु, वनमा आगलागी, इँटाभट्टा, निर्माण कार्य आदि काठमाडौंको हावा प्रदूषित हुनुका कारण हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको कुल वायु प्रदूषणको ३८ प्रतिशत सवारीसाधनबाट हुने उत्सर्जनका कारण हुने गरेको छ । यसका साथै, सहरको भौगोलिक अवस्थितिले उपत्यकाभित्र धुलो, धुवाँ र हानिकारक ग्यास जम्मा हुन सहज छ, जसले गर्दा हावाको गुणस्तर खराब हुन्छ । कारण जेसुकै होस्, काठमाडौंको हावाको सम्पर्कमा आउँदा धेरै गम्भीर स्वास्थ्य परिणाम देखिन सक्छन् ।

विशेषगरी, बालबालिका, वृद्धवृद्धा र पहिले नै स्वास्थ्य समस्या भएका व्यक्तिका लागि यो अति नै जाखिमपूर्ण हुन्छ । यसले दम, ब्रोन्काइटिस वा फोक्सोको क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी रोग मात्र निम्त्याउँदैन, मुटु र मस्तिष्कलाई पनि असर गर्छ र यसले काठमाडौंका औसत बासिन्दाको समग्र आयु घटाउँछ ।वायु प्रदूषणले तत्काल स्वास्थ्य जोखिम निम्त्याउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका बासिन्दाले फोक्सो र आँखाको संक्रमणको बढ्दो समस्या सामना गरिरहेको बताएको छ । मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनस्वास्थ्यको रक्षा गर्न वायुको गुणस्तर सुधारमा तत्काल जोड दिनुपर्ने बताएका छन् । 

उड्डयन सुरक्षा–हवाई ट्राफिक अवरोध : उडानको समयमा कम ‘भिजिबिलिटी’ र हावामा अम्लीय प्रदूषकको प्रभावका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानमा सुरक्षा जोखिम बढाउन सक्छ । यसका कारण विमानस्थलमा उडान रद्द वा ढिलाइ हुन सक्छ ।

भूमि यातायात : कुहिरो र तुवाँलोले भिजिबिलिटीलाई उल्लेख्य रूपमा कम गर्दा दैनिक गतिविधिमा असर पर्छ र ट्राफिक दुर्घटनाको जोखिम बढ्छ ।

कृषि प्रभाव : ओजोन र अन्य प्रदूषकका कारण सहरी क्षेत्रका बालीनालीमा क्षति पुग्छ । काठमाडौं उपत्यका र वरपरका कृषि क्षेत्रमा सूर्यको प्रकाशलाई अवरुद्ध गर्ने कणका कारण बोटबिरुवामा प्रकाश संश्लेषणमा कमी देख्न सकिन्छ ।

आर्थिक प्रभाव :  बढ्दो प्रदूषणका कारण पर्यटक आगमनमा गिरावट आउन सक्छ । बाहिर काम गर्न कठिन हुँदा उत्पादकत्व घट्न सक्छ, जसले प्रदूषण–सम्बन्धित रोगको उपचारमा स्वास्थ्य सेवा लागत बढाउन सक्छ ।

स्वास्थ्यमा पर्ने प्रभाव :  वायु प्रदूषणको लामो समयसम्म सम्पर्कमा रहँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । डब्लुएचओले वायु प्रदूषणलाई सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम र गैर–संक्रामक रोगका लागि दोस्रो ठुलो जोखिम कारक मान्छ । नेपालमा वायु प्रदूषणले प्रत्येक वर्ष ४२ हजार एक सयजनाको मृत्यु निम्त्याउने गरेको छ । जसमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षभन्दा माथिका वृद्धवृद्धा हुने गरेका छन् । जसले औसत आयु ४.१ वर्षले घटाउँछ ।

वायु प्रदूषणबाट हुने मृत्युको शीर्ष पाँचमा सिओपिडी, इस्केमिक मुटु रोग, स्ट्रोक, तल्लो श्वासप्रश्वास संक्रमण र नवजात शिशुको मृत्यु रहेका छन् ।वायु प्रदूषणको सम्पर्कमा आउँदा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ, स्वास्थ्य चिन्ता र जीवनशैली प्रतिबन्धका कारण तनाव र चिन्ता बढ्छ । यसले डिप्रेसनको दर पनि बढाउँछ । वायु प्रदूषणले हरितगृह ग्यास उत्सर्जनमा वृद्धि गर्छ, जसले जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि र ओजोन तहको क्षय निम्त्याउन सक्छ ।

वायु प्रदूषणले जलीय पारिस्थितिक प्रणालीमा बाधा पु¥याउँछ र पानीको गुणस्तरलाई असर गर्छ, जसले गर्दा दीर्घकालीन पारिस्थितिक असन्तुलन निम्त्याउँछ । यस्तै, अम्लीय प्रदूषकका कारण भवन र स्मारक छिटो जीर्ण हुन सक्छन्, प्रदूषकको सम्पर्कमा आउने सवारीसाधन र अन्य मेसिनरीको मर्मत लागतमा वृद्धि हुन्छ ।

निष्कर्ष :  काठमाडौं उपत्यका गम्भीर वायु प्रदूषणबाट ग्रस्त छ । काठमाडौंको वायु प्रदूषणको स्तरण डब्लुएचओको निर्देशिकाभन्दा धेरै माथि छ । तीव्र गतिमा बढ्दो जनसंख्या, सहरीकरण, बढ्दो सवारीसाधन तथा औद्योगिक उत्सर्जनका साथै जाडोमा प्रदूषकलाई बढाउने मौसमी वन डढेलोले यस संकटलाई झनै चर्काएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषण संकटमा पनि सम्बन्धित सबै सरोकारवालाले तत्काल कदम चाल्नु आवश्यक छ । प्रदूषणलाई वातावरणीय समस्याका रूपमा हेरिन्छ, तर नेपाल र काठमाडौंको अवस्थाले यसलाई जनस्वास्थ्य संकटमा परिणत गरेको छ, जसले यो प्रदूषित हावामा सास फेर्ने प्रत्येक नेपालीलाई प्रत्यक्ष असर गर्छ ।

सरकारले यस्तो अवस्थालाई कम गर्न केही कदम चालेको छ, जसमा सवारीसाधनको उत्सर्जनको अनुगमन र विद्युतीय सवारीसाधनका लागि कर छुट समावेश गरिएको छ । तर, अझै धेरै गर्न बाँकी नै छ । कार्बन उत्सर्जनमा कडा नियमन, औद्योगिक धुवाँ उत्सर्जन कम गर्न स्वच्छ प्रविधिको प्रवद्र्धन, खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध र भवनको ऊर्जा दक्षता सुधारमा ध्यान केन्द्रित गर्नेजस्ता उपाय तत्काल अपनाउन आवश्यक छ ।

सुझावित समाचार