पराजयपछि पनि जनसेवामा निरन्तर लाग्नेछु : नेकपा उम्मेदवार चौधरी

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ मा उदयपुरको प्रतिनिधिसभा सदस्य  निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेर पराजित भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बलदेव चौधरीले आफू पराजयपछि पनि जनताको सेवामा निरन्तर लाग्ने प्रतिबद्धाता व्यक्त गरेका छन् ।

सोमबार गाईघाटको निजी निवासमा पत्रकार सम्मेलन गर्दै चौधरीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताले देखाएको विश्वास र स्नेहलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताउँदै जनताको सेवामा निरन्तर लाग्ने दाबी गरेका हुन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको छु । निर्वाचनको परिणाम हाम्रो पक्षमा नभए पनि नेपाली कम्युनिस्ट पार्टी र जनताले मप्रति देखाउनुभएको विश्वास, स्नेह र समर्थनलाई मैले मेरो राजनीतिक जीवनको पुँजीका रूपमा लिएको छु ।’ 

उनले निर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै जनताको अपेक्षाअनुसार क्षेत्रको विकास, समृद्धि र जनसेवामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘म पराजित भए पनि जनताका मुद्दाबाट हराएको छैन । चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा सुनेका समस्या, भावना र सपना मेरा लागि मार्गनिर्देशक बनेका छन् ।’ 

चुनावी अभियानका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ । उनले भने, ‘पदमा रहेर वा नरहेर पनि क्षेत्रको विकास, न्याय र जनसेवामा समर्पित रहनेछु ।’ 

चौधरीले चुनावी अभियानको क्रममा विशेष गरेर उदयपुरको आर्थिक विकासलाई केन्द्रमा राखेर उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाउने योजना सार्वजनिक गरेका थिए । उनले भने, ‘साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔँ हात–हात भन्ने नारासहित उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमार्फत ‘उदयपुरको धन अभियान’ सञ्चालन गर्नेछौँ ।’ 

उनका अनुसार उक्त अभियान आगामी वैशाखदेखि सुरु हुनेछ । करिब ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । चौधरीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग पुर्याउने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा आफ्नो चुनावी अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उदयपुर १ मा चौधरी तेस्रो स्थान हासिल गर्दै पराजित भएका थिए ।

सुझावित समाचार