लागुऔषधसहित विभिन्न स्थानबाट आठजना पक्राउ

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध तथा कानुनले निषेध गरेका चिकित्सकीय औषधिसहित आठजनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार गस्तीमा खटिएको प्रहरी टोलीले मोरङ, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

मोरङको पथरी शनिश्चरे नगरपालिका– ८, मंगलबारेबाट मानबहादुर दर्जीसहित तीनजना पक्राउ परेका छन्। त्यस्तै, दाङको घोराही उपमहानगरपालिका– १४ स्थित न्यु मनकामना गेस्ट हाउसबाट ब्राउनसुगरजस्तो देखिने अवैध लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका– ३, चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुईजना पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका– २, स्याउले चोकबाट खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित २५ वर्षीय कुवेर शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरू तथा बरामद गरिएको लागुऔषधबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुझावित समाचार