निर्वाचित भएसँगै फाप्ला मैदान भ्रमणमा पुगे चन्द

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएलगत्तै कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्दबहादुर चन्दले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको भ्रमण गरेका छन् ।

चन्दले प्रमाणपत्र ग्रहण गरेलगत्तै फाप्लाको भ्रमण गर्दै आवश्यक कागजी प्रक्रियाहरू पूरा भइसकेको अवस्थामा अब बन्ने रास्वपा सरकारले पूर्वाधार निर्माणलाई मुर्तरूप दिन बजेट सुनिश्चितताको प्रतिबद्धता गरे ।

‘फाप्लाका विषयमा मैले पहिलेदेखि नै अध्ययन गरेको छु । मेरो चुनावी एजेन्डामा पनि यो परियोजना परेको छ,’ चन्दले भ्रमणका क्रममा भने, ‘सुदूरपश्चिम क्रिकेट उत्पादन गर्ने फ्याक्ट्री हो । फ्याक्ट्रीलाई जोगाउन मेरो पूर्ण सहयोग रहन्छ । खेल समाजलाई एकताबद्ध गराएर लैजाने माध्यम भएकाले पनि यस परियोजनालाई मुर्तरूप दिन आवश्यक बजेट विनियोजनको पहलका लागि मेरो प्रतिबद्धता र प्राथमिकतामा रहन्छ ।’ 

नवनिर्वाचित चन्दलाई मैदानमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले स्वागत गरेका थिए । निर्वाचित चन्दलाई बधाई दिँदै शाहीले सुदूरपश्चिमको मुहार फेर्ने (गेम चेन्चर) यस परियोजना अब थप द्रुतगतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरे ।

‘यसअघिका सरकारहरूले पनि प्राथमिकतामा राखेको फाप्लाको जग्गाप्राप्ति, डिपिआर निर्माण तथा वातावरणीय प्रभाव मूल्यांकन (इआइए)लगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेका छन्,’ शाहीले भने ।

सुझावित समाचार