देशभरि प्राय: पार्टीले हार व्यहोरेको अवस्थामा पनि धनकुटामा भने एमाले उम्मेदवार राजेन्द्रकुमार राई ह्याट्रिक पुरा गर्दै विजयी भएका छन् । एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत भइसकेका राजेन्द्रकुमार राई तीन हजार ८७५ मतान्तरका साथ विजयी भएका छन् ।
उनले १८ हजार १३२ मत प्राप्त गरे । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरे । एमाले उम्मेदवार राईको यो तेस्रोपटकको जित हो ।
यसअघि राई ०७४ र ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापालाई पराजित गर्दै विजयी भएका थिए । राई र थापा दुवै तत्कालीन मुगा गाविस हाल पाख्रीबास नगरपालिकाका स्थायी बासिन्दा हुन् । राईसँग पराजित नेपाली कांग्रेस धनकुटाका सभापतिसमेत रहेका दिनेश राईको यो तेस्रो हार हो । उनी धनकुटा नगरपालिकाको मेयर दुईपटक हारेका थिए भने प्रतिनिधिसभा सदस्यमा पनि हारेका छन् ।
०७४ र ०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका चिन्तन तामाङसँग दुईपटक पराजित भएका थिए । यता प्रतिनिधिसभा सदस्यतर्फ श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२, राष्ट्र्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले नाै हजार ९४४ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले एक हजार ६६५ मत प्राप्त गरेका छन् । धनकुटामा तीन स्वतन्त्रसहित १७ जना चुनावी मैदान उत्रिएका थिए ।