डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरलाई सात हजार मतान्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।
१९ हजार १३१ मत पाएर जोशी निर्वाचित हुँदा कांग्रेसका महरले १२ हजार १२१ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका चक्रप्रसाद स्नेहीले दुई हजार ९२६ मत पाए। ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा ४५ हजार पाँच सय ४३ मत खसेको थियो।
डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको किल्ला यसपालिको चुनावमा भत्किएको हो। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले २०४८ सालयताका सबै संसदीय चुनाव डडेल्धुराबाट जितेका थिए। पार्टीको विशेष महाधिवेशनबाट सभापतिबाट हटाइएका देउवा यसपालिको चुनावमा मतदान गर्न पनि गृहजिल्ला गएनन्।