बाराका तीन क्षेत्रमा रास्वपाको अग्रता, एक क्षेत्रमा मतगणना सुरु हुन बाँकी

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी छ। हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार तीनवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता लिएका छन् भने क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन बाँकी छ।

बारा १ मा गणेश धिमालको फराकिलो अग्रता
बारा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार गणेश धिमालले फराकिलो अग्रता कायम गरेका छन्। प्रारम्भिक चरणदेखि नै अग्रता लिएका धिमालले पछिल्लो मतपरिणामसँगै आफ्नो अग्रता अझै विस्तार गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार धिमालले सात हजार ८२३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी दुई हजार ४४३ मतसहित दोस्रो स्थानमा छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली एक हजार ६७३ मतसहित तेस्रो स्थानमा छन् भने जनता समाजवादी पार्टी (जसपा)का रामबाबुप्रसाद यादव ४०१ मतसहित चौथो स्थानमा छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगालले ३६९ मत प्राप्त गरेका छन्।

बारा ३ मा अरविन्द साहको सानदार अग्रता
यसैगरी, बारा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार अरविन्द साहले सानदार अग्रता कायम गरेका छन्। हालसम्म कुल २१ हजार ५४६ मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

पछिल्लो मतपरिणामअनुसार साहको नाै हजार ८०६ मतको अग्रता देखिएको छ। साहले १२ हजार ७४४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका फरमुल्लाह मंसुर दुई हजार ९३८ मतसहित दोस्रो स्थानमा छन्।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का रामबाबुकुमार यादव दुई हजार ३८ मतसहित तेस्रो स्थानमा छन् भने जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता एक हजार २३३ मतसहित चौथो स्थानमा छन्। नेकपा एमालेकी ज्वालाकुमारी साहले ८५७ मत प्राप्त गरेकी छिन्।

अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिस्ट पार्टीका भरतप्रसाद साहले २२६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद जैसवारले ९९ मत प्राप्त गरेका छन्।

गणना भएका कुल मतमध्ये एक हजार २२५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बारा ४ मा रहबर अन्सारीको अग्रता
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले अग्रता कायम गरेका छन्। प्रारम्भिक मतगणनाबाटै अग्रता बनाएका अन्सारीले पछिल्लो मत परिणामसम्म पनि अग्रता कायम राखेका छन्।

पछिल्लो परिणामअनुसार अन्सारीले पाँच हजार २४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ एक हजार २१८ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका श्यामबाबु गुप्ता एक हजार ४० मतसहित तेस्रो स्थानमा छन्।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्जु साह कानु ६२४ मतसहित चौथो स्थानमा छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय कुसवाहाले १५२ मत प्राप्त गरेका छन्।

बारा २ मा मतगणना सुरु हुन बाँकी
यसैबिच बारा निर्वाचन क्षेत्र नम्बर २ मा केहीबेरमै मतगणना सुरु हुने भनिए पनि हालसम्म मतगणना सुरु हुन सकेको छैन। निर्वाचन अधिकृतको कार्यालयका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि उक्त क्षेत्रमा पनि मतगणना सुरु गरिनेछ।

हाल बारा जिल्लाका विभिन्न केन्द्रमा मतगणना कार्य जारी रहेको छ भने क्रमशः थप मतपरिणाम सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार