फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि हिमाली जिल्ला ताप्लेजुङमा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला सदरमुकाम फुङलिङस्थित जिल्ला अदालतपरिसरमा मतगणनास्थल तयार पारिएको र आज सर्वदलीय बैठक बसेर आवश्यक सहमति जुटाइँदै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको छ। मतगणनास्थलमा तारजालीको घेराबारासहित सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतगणनाका लागि आवश्यक कर्मचारी र सामग्रीको व्यवस्थापन पनि पूरा गरिएको छ।हिमाली तथा दुर्गम भूगोल भएको ताप्लेजुङमा मतदान सकिएपछि केही उच्च हिमाली क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन हेलिकोप्टर प्रयोग गरिएको थियो। फक्ताङलुङ गाउँपालिकाका ओलाङचुङगोला, यांमा, घुन्सा र ग्याब्लाजस्ता दुर्गम बस्तीका मतपेटिका हिमाली भूगोल र दूरीका कारण हेलिकोप्टरमार्फत ल्याइएको हो।
निर्वाचनको दिन जिल्लाभर रहेका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हिमाली क्षेत्रका केही मतदान केन्द्रमा मतदाता संख्या कम भए पनि बिहानदेखि साँझसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भएको थियो।जिल्लाभर रहेका विभिन्न गाउँपालिका तथा नगरपालिकाअन्तर्गतका मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकाम ल्याइसकिएको छ। सुरक्षा निकायको कडा निगरानीमा मतपेटिका जिल्ला अदालतपरिसरमा राखिएको छ।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा व्यवस्था मिलाइएको थियो। मतदानपछि मतपेटिका ढुवानी तथा भण्डारणको काम पनि सुरक्षा निकायको निगरानीमा सम्पन्न गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकमा मतगणनाको प्रक्रिया, गणनास्थलको व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा छलफल गरिनेछ। बैठकपछि तत्कालै मतगणना सुरु गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य चयनका लागि भएको निर्वाचनको नतिजा आजदेखि सुरु हुने मतगणनापछि क्रमशः सार्वजनिक गरिने जनाइएको छ।