- चौथोपटक फाइनल स्थान सुरक्षित गर्ने क्रममा भारतले दुईपटकको विजेता इंग्ल्यान्डलाई सात रनले हरायो
भारत र न्युजिल्यान्डबिच १०औँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । आगामी आइतबार अहमदाबाद रंगशालामा यी दुई टोलीबिच फाइनल खेल हुनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई सात रनको झिनो अन्तरले हराउँदै चौथोपटक फाइनल स्थान बनाएको हो । मुम्बईस्थित वानखेडे रंगशालामा पहिलो ब्याटिङ गरी भारतले ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५३ रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको थियो ।
इंग्ल्यान्डलाई अन्तिम ६ बलमा ३० रन आवश्यक थियो । क्रिजमा विस्फोटक ब्याटिङ गरिरहेका जाकोव बेथेल थिए । भारतले अन्तिम ओभर शिवम दुवेलाई फ्याँक्न लगाएको थियो । शिवमको पहिलो बलमै बेथेल दुभाग्र्यपूर्ण रूपमा रनआउट हुन पुगे । उनी रनआउट भएसँगै भारत खेलमा फर्किएको थियो । बेथेल क्रिजमा रहँदासम्म इंग्ल्यान्डले भारतमाथि सनसनी जित निकाल्ने सम्भावना उत्तिकै थियो । जोफ्रा आर्चरले अन्तिम ओभरमा तीन छक्का प्रहार गरे पनि इंग्ल्यान्डलार्ई जित दिलाउन सकेनन् ।
बेथेलको आक्रामक शतक
दुई सय ५४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि बेथेलले विस्फोटक ब्याटिङ गरेका थिए । उनले केवल ४८ बलमा आठ चौका र सात छक्का प्रहार गरी एक सय पाँच रनको योगदान दिए । उनले चौथो विकेटका लागि वेन्टोनसँग १० बलमा ३१ रन बनाए ।
बेथेलले पाँचौँ विकेटका लागि विल ज्याक्ससँग ३९ बलमा ७७ रनको साझेदारी गरी भारतमाथि दबाब राखे । बेथेलले छैटौँ विकेटमा साम कुरानसँग २७ बलमा ५० रनको साझेदारी गरी इंग्ल्यान्डलार्ई जितका आशा दिलाइरहे । तर, अन्तिम ओभरमा उनी रनआउट हुँदा इंग्ल्यान्ड इनिङ्सकै पहिलोपटक पछाडि पर्यो ।
इंग्ल्यान्डका लागि जोस बटलरले १७ बलमा २५ रन बनाउन चार चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी, ज्याक्सले २० बल सामना गरी दुई छक्का र चार चौका प्रहार गरी ३५ रनको योगदान दिए । सामले १४ बलमा १८ रन बनाए । आर्चरले चार बलमा तीन छक्काको सहयोगमा १९ रन बटुले । भारतले १३ अतिरिक्त रन दिएको थियो । बलिङमा हार्दिक पाण्ड्याले ३८ रन खर्चेर दुई विकेट लिए । स्ट्राइक बलर जसप्रित बुमराहले चार ओभरमा ३३ रन दिएर एक विकेट लिएका थिए ।
सन्जुको अर्धशतक
भारतले प्रतियोगितामा लगातार दुई खेलमा दुई सय ५० रनको योगफल कटाएको छ । यसअघि सुपर ८ मा जिम्बावेविरुद्ध पनि भारतले दुई सय ५० रनमाथि स्कोर गरेको थियो । वानखेडे रंगशालाको ब्याटिङ पिचमा ओपनर सन्जु सामसनले पुन: एकपटक उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले इनिङ्सको १३.१ ओभरमा आउट हुनुअघि ४२ बलमा आठ चौका र सात छक्का प्रहार गरी सर्वाधिक ८९ रन जोडेका थिए । यसअघि वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ९७ रन बनाएका थिए । भारतका इसान किसनले १८ बलमा ३९ रन बनाए । शिवम दुवेले २५ बलमा चार छक्का र एक चौका प्रहार गरी ४३ रनको योगदान दिए । हार्दिक पाण्ड्याले १२ बलमा २७ रन तथा तिलक बर्माले सात बलमा तीन छक्का प्रहार गरी २१ रनको योगदान दिए । सामसन र किसनबिच दोस्रो विकेटका लागि ४५ बलमा ९७ रनको साझेदारी भएको थियो । पाण्ड्या र तिलकले छैटौँ विकेटका लागि आठ बलमा २४ रन बनाए ।
नरेन्द्र मोदी रंगशालामा जुन टोलीले उपाधि जिते पनि कीर्तिमान बन्नेछ । भारत तेस्रो तथा न्युजिल्यान्ड पहिलोपटक विश्व च्याम्पियन बन्ने होडमा उभिएका छन् ।
यसअघि भारत सन् २००७, ०१४ र ०२४ को संस्करणको फाइनलमा पुगेको थियो । भारतले सन् २००७ र ०२४ को संस्करणको उपाधि जितेको थियो । सन् २०१४ मा भारत फाइनलमा पराजित भएको थियो । विश्वकप इतिहासमा भारतले इंग्ल्यान्डविरुद्ध जोडेको योगफल चौथो ठुलो हो ।