प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुई निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्लामा करिब ५९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।
कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लाको कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेकामा १ लाख ८६ हजार ५५१ मत खसेको छ। खसेको मतमध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य पाँचजनाले मतदान गरेको ढकालले जानकारी दिए।
कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर क्षेत्र नम्बर–१ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरी कुल ९५ हजार ३१० मत खसेको छ। त्यस्तै, क्षेत्र नम्बर–२ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र एक अन्य गरी ९१ हजार २४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसँगै अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन कार्यलाई तीव्र पारिएको छ। प्रमुख ढकालका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना प्रक्रिया सुरु गरिनेछ। जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार विद्यालयका दुई ब्लकमा मतगणनाको व्यवस्था गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना ‘ए’ ब्लकको उत्तरतर्फको भवनमा गरिनेछ भने क्षेत्र नम्बर–२ को मतगणना ‘बी’ ब्लकमा गरिनेछ।
मकवानपुरका केही दुर्गम मतदान केन्द्रबाट मतपेटिका ल्याउन विशेष व्यवस्थापन गरिएको छ। जिल्लाका आठ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेकाले निर्वाचन सामग्री ढुवानी तथा मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको हो। बकैया गाउँपालिकाका तीन र राक्सिराङ गाउँपालिकाका पाँच मतदान केन्द्रमा मकवानपुरबाट सिधा सडक नपुगेकाले रौतहट, बारा र चितवनको सडकमार्ग प्रयोग गरेर मतपेटिका ल्याइँदै छ। हाल ती केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको छ।