ताप्लेजुङ जिल्लामा ५१ प्रतिशत मत खसेको छ। कुल ९०३२७ मतदाता रहेकोमा ४६,४७४ मत खसेको छ । जसमा महिला २१०७५ र पुरूस २५३९९ छन्।
आज मतपेटिका संकलन सम्भव नभएकाले मतगणनाका लागि भने समय लाग्ने भएको छ । ताप्लेजुङका हिमाली बस्तीहरू ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाका मतदान केन्द्रबाट खसेका मतपेटिका हेलिकोप्टर मार्फत सदरमुकाम ओसार्ने तयारी छ। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा रहेका ती मतदान केन्द्रबाट स्थलमार्गबाट ल्याउन कठिन हुने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताए।
जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको याङ्मा मतदान केन्द्रमा २६५ जना मतदाता रहेकामा १३ मत खसेको छ। त्यसैगरी ओलाङचुङगोला मतदान केन्द्रमा २९२ मतदाता रहेकामा ४८ मत खसेको छ। घुन्सा मतदान केन्द्रमा १७३ मतदाता रहेकामा ८१ मत खसेको छ भने ग्याब्ला मतदान केन्द्रमा ७९ मतदाता रहेकामा २८ मत खसेको छ।
ती सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम फुङलिङ ल्याइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मौसम अनुकूल भएलगत्तै हेलिकोप्टरमार्फत मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सेढाईले बताए।