निर्वाचनमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् : चन्द्र ढकाल

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस् भन्ने अपेक्षा गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानपश्चात् उनले भने, ‘मैले आज काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेँ।मत भनेको केवल अधिकार मात्र होइन, देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो। मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाओस्, जसले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुकलाई अघि बढाओस् भन्ने अपेक्षा गरेको छु। यो निजी क्षेत्र मात्र होइन, आमनेपालीको अपेक्षा पनि हो।’

मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक रहेकाे बताउँदै उनले भने, ‘निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै मुलुकमा अपेक्षित विकास र समृद्धि हासिल हुन सक्छ। निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको यस महत्त्वलाई मनन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ। सबैलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत हामी सबैको साझा भविष्य निर्माणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।’

सुझावित समाचार