राष्ट्रपति ट्रम्प भन्छन्– इरानले विश्वकप खेलोस् वा नखेलोस् मतलब छैन

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप फुटबल २०२६ मा इरानको सहभागितालाई लिएर व्यक्तिगत धारणा सार्वजनिक गरेका छन् । उनले आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकपमा इरानको सहभागिताबारे आफूलाई कुनै चासो नभएको बताएका छन् । ‘इरानले विश्वकप खेल्ने कुरामा मलाई साँच्चै कुनै चासो छैन । इरान एउटा नराम्ररी पराजित भइसकेको देश हो । अहिले इरान निकै कमजोर अवस्थामा छ,’ पोलिटीको पत्रिकासँग ट्रम्पले भने, ‘आई डन्ट केयर इरान ।’

अहिले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेका छन् । इरानले पनि त्यसको प्रतिशोध लिन खाडी देशमाथि मिसाइल आक्रामण गरेको छ । अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण अहिले मध्यपूर्वी एसिया निकै तनावग्रस्त अवस्थामा छ । विश्वकप आगामी ११ जुनदेखि १९ जुलाईसम्म हुँदै छ । इरान लगातार चौथोपटक विश्वकपका लागि छनोट भएको हो । गत डिसेम्बरमा फिफाले निकालेको ‘ड्र’अनुसार इरान समूह ‘जी’मा छ । इरानले खेलतालिकाअनुसार समूहका तीनै खेल अमेरिकामा खेल्दै छ । एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग इरानको खेल छ । त्यसपछि इरानले सियाटलमा इजिप्टको सामना गर्ने खेलतालिका छ । यसअघि इरानी फुटबल महासंघले अमेरिकामा हुने विश्वकपमा आफूहरूको सहभागिता अनिश्चित भएको बताएका थिए । यद्यपि, फिफाका महासचिवले भने इरानलाई विश्वकपमा सहभागी गराउने प्रयास हुने जनाए । तर, मध्यपूर्वी एसियामा दिन–प्रतिदिन उत्पन्न तनावपछि इरान र अमेरिकाबिचको सम्बन्ध बिग्रिएको छ । 

राष्ट्रपति ट्रम्पको पछिल्लो भनाइले अवस्था थप जटिलतातर्फ धकेलिएको छ । ‘मलाई वास्तवमै मतलब छैन्, यतिवेला इरान निकै कमजोर छ । उनीहरू साँच्चै थाकेको अवस्थामा छन्,’ ट्रम्पले भने । यद्यपि, गत वर्ष अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा बमबारी गर्दा पनि इरानले विश्वकपबाट नाम फिर्ता लिएको थिएन । गत साता अमेरिकाको आक्रमणमा इरानी सर्वोच्च नेता मारिएका थिए । त्यसको प्रतिशोध लिन इरान खाडी क्षेत्रमा थप आक्रामक बनेको हो । 

खेलकुद मन्त्रालयको निर्णय अन्तिम
इरानले आगामी विश्वकपमा भाग लिने वा नलिने सम्बन्धमा उनीहरूको खेलकुद मन्त्रालयले अन्तिम निर्णय लिनेछ । अहिलेको गम्भीर परिस्थितिको बारेमा अन्तिम निर्णय खेलकुदमन्त्रीले लिने इरानी फुटबल संघका प्रमुख मेहदी ताजले बताए । ‘अहिलेको अवस्थामा विश्वकप खेल्ने आफूहरूको अपेक्षाभन्दा टाढा छ, तर इरानको खेलकुद मन्त्रालयले यसबारे अन्तिम निर्णय लिनेछ,’ ताजले भने, ‘मन्त्रालयको निर्णयअनुसार हामी अगाडि बढ्छौँ ।’ 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले सबैको सहभागितामा सुरक्षित विश्वकप आयोजना गर्नु नै आफूहरूको मुख्य ध्यान रहेको बताए । खेलकुद मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । फिफाका महासचिव माटिएस पनि इरानको अन्तिम निर्णयको प्रतीक्षा गरिरहेको बताए । इरानले विश्वकप बहिष्कार गर्दा छनोट चरणमा दोस्रो स्थानमा रहेको युएईले मौका पाउनेछ । 

१२ राष्ट्रका नागरिक अमेरिका छिर्न नपाउने
राष्ट्रपति ट्रम्पले देशको सुरक्षा जनाउँदै विभिन्न १२ राष्ट्रका नागरिकलाई भिसा नदिने घोषणा गरेका छन् । जसमा इरान पनि रहेको छ । गत डिसेम्बरमा विश्वकपको ‘ड्र’ निकालिँदा इरानले भिसा प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति ट्रम्पको घोषणाले इरानी खेलाडीको भिसा प्रक्रिया सुरुवातमै रद्द भयो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इरानी खेलाडीको भिसा प्रक्रिया सहज बनाउन अमेरिकी पदाधिकारीसँग वार्ता गरिरहेको छ । 

इरानले विश्वकप खेल्न भिसा पाउँदा पनि उनीहरूको खेलमा धेरै सुरक्षा घेरा राखिनेछ । सन् २०२२ को कतार विश्वकपमा इरान र अमेरिकाबिचको खेल हुँदा आयोजक र फिफाले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो । चार वर्षअघिको विश्वकपमा इरानको प्रत्येक खेलमा सुरक्षा व्यवस्था थप गर्दा आयोजक कतारले आर्थिक भार बहन गरेको थियो । 

मानव अधिकारकर्मी निक म्याग्राहमले विश्वकपमा इरान र अमेरिकाबिचको सम्बन्धले फरक गर्ने बताए । ‘हामी दुई राष्ट्रबिचको सम्बन्धभन्दा पनि खेलाडी स्वतन्त्र हुनुपर्ने माग राख्छौँ,’ निकले भने, ‘खेलाडीको सहयोगमा राजनीति गर्नु राम्रो होइन ।’ अमेरिकाका लागि मध्यपूर्वी एसिया तथा उत्तर अफ्रिका हेर्ने निर्देशक डा. सनमम भाकीले तेहरानमा बढ्दो आक्रमणले दुई राष्ट्रबिचको दूरी धेरै बढेको दाबी गरे । ‘पछिल्लो विश्लेषणअनुसार इरानले अमेरिकासँग प्रतिशोध लिने तयारीमा छ । यस्तोमा उनीहरू फुटबलमा सहभागिता नहुने लगभग निश्चित छ,’ फिफाका महासचिव ग्राफ्ट्रोमले भने, ‘विश्वकपमा सबै राष्ट्र सहभागी होऊन् भन्ने हो ।’ 

See More On

सुझावित समाचार